नेपालमा भाजपाअनुकूल सरकार बनाउन प्रयास भइरहेको अमित शाहको दाबी

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले नेपालमा भारतीय जनता पार्टी (भाजपा) अनुकूलको सरकार निर्माण गर्नेबारे आन्तरिक बैठकमा गरेको ब्रिफिङ सार्वजनिक भएको छ । रवीन्द्र शतवार्षिकी भवनमा गत शनिबार बसेको बैठकमा भाजपाका पूर्वअध्यक्षसमेत रहेका शाहले त्यस्तो ब्रिफिङ गरेका हुन् । यसको खुलासा त्रिपुराका मुख्यमन्त्री विप्लव देवले गरेका छन् । जसबारे इष्टमोजोले समाचार लेखेको छ । शाहलाई उद्धृत गर्दै देवले इष्टमोजोसँग भनेका छन्– नेपाल र श्रीलंकामा भाजपाको दल स्थापना गरेर सरकार निर्माण गर्ने योजना अघि बढिरहेको छ । समाचारअनुसार, बैठकमा शाहले भारतका सबै राज्यमा जित हासिल गरेर छिमेकी देश नेपाल र श्रीलंकामा आफूअनुकूल सरकार बनाउने योजना सार्वजनिक गरेका छन् ।बैठकमा बीजेपीका उत्तर–दक्षिण सेक्रेटरी अजय जमवालले भारतका विभिन्न राज्यमा आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउन स्टेट गेस्ट हाउसमा छलफल गरिरहेको बताएका थिए । अजयले यस्तो प्रसंग निकालेलगत्तै शाहले अब नेपाल र छिमेकी देश श्रीलंकामा आफूअनुकूलको सरकार बनाउन बाँकी रहेको र त्यसका लागि आफूले प्रयास गरिरहेको सुनाएका थिए ।‘भारतका धेरै राज्यमा बीजेपीको सरकार गठन गर्ने प्रयास भइरहे पनि छिमेकी देश नेपाल र श्रीलंकामा बाँकी छ । त्यसका लागि म योजना बनाउँदैछु,’ त्रिपुराका मुख्यमन्त्री देवले शाहको भनाइ उद्धृत गर्दै इष्टमोजोसँग भनेका छन् ।कुनै पनि राजनीतिक दल आफ्नो देशभित्र मात्र सीमित हुने भए पनि देवले बीजेपीलाई विश्वकै ठूलो पार्टी बनाउन शाह नेतृत्वमा योजना बनिरहेको रोचक विषय पनि उप्काएका छन् ।‘कम्युनिस्टहरूले दाबी गरिरहेका थिए कि उनीहरू विश्वकै ठूला दल हुन्,’ देवले भनेका छन्, ‘अमित शाहले त्यसलाई भत्काएर बीजेपीलाई विश्वै ठूलो दल बनाउँदैछन् ।’नेपालमा सरकार निर्माण र विघटनमा मात्रै होइन, अति सुक्ष्म मामलामा समेत चासो, हस्तक्षेपको आरोप भारतमाथि वर्षौंदेखि छ । नेपालमा विकसित पछिल्लो घटनाक्रममा पनि कतिपय कूटनीतिज्ञले भारतीय भूमिका देख्दै आइरहेका छन् । शाहको पछिल्लो अभिव्यक्तिले भारतमाथि लाग्दै आइरहेको आरोपलाई थप बल प्रदान गरेको छ ।
प्रतिक्रिया