NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सचिवलाई टिक्नै दिँदैन सरकार : साढे चार वर्षमा नौ पटकसम्म सरुवा

काठमाडौं । स्थायी संयन्त्र मानिने निजामती प्रशासनमा सचिव सबैभन्दा माथिल्लाे पद हो । कुनै पनि मन्त्रालय वा कार्यालयले निर्णय प्रक्रियमा मन्त्रीलाई होइन सचिवलाई चिन्छ । दैनिक प्रशासनीक कामदेखि नीति नियम र प्रक्रियाहरूमा सचिव नै प्रधान मानिन्छ । तर, पछिल्लो समय यो पद असाध्यै अस्थिर र निर्णय क्षमता गुमाउने स्थितिमा पुगेको छ । खासगरी राजनीतिक नेतृत्वले हस्तक्षेप गर्दा अहिले सचिवहरू एउटै कार्यालयमा ३/४ महिना पनि नटिक्ने स्थिति पैदा भएको छ । आफूअनुकुल निर्णय गराउने काममा सहजताका लागि सचिवलाई गोटीका रुपमा प्रयोग गर्ने प्रवृति राजनीतिक तहमा व्यप्त छ । स्वार्थ अनुकुल निर्णय नगर्नेमाथि सरुवाको डन्डा चलाउने प्रवृति पछिल्लो समय थप बढेर गएको छ । पूर्वसचिव मोहनकृष्ण सापकोटा भन्छन्, ‘छिटोछिटो सचिव सरुवा हुँदा सामान्य काम त भइ नै हाल्छ, तर सुधार र गुणस्तरको अपेक्षा भने यसबाट गर्न सकिन्न ।’ सचिव सरुवा कार्यक्षमता र अनुभव भन्दा पनि अनुकुलका पात्र हेरिने गरिएको उनको अनुभव छ । यसकारण गरिन्छ सरुवा विभिन्न कारणहरूले सचिवको सरुवा हुन्छ । जसमा राजनीतिक, सचिव स्वयंको चाहना र निर्णय क्षमता प्रमुख मानिन्छन् । सचिवको सरुवा मुलतः राजनीतिक कारणबाट हुने एक पूर्वसचिवको अनुभव छ । ‘कतिपय हदमा राजनीतिक नेतृत्वले सचिवबाट गलत अपेक्षा राखेको हुन्छ,’ ती सचिव भन्छन्, ‘त्यो सचिवले पूरा गर्न नसक्ने भएपछि सरुवा गराउने अनेक खेल हुन्छ । यस्तो खेलमा खासगरी सत्तासिन दल निकट सचिव र ट्रेड युनियन नै सक्रिय हुने ती सचिवको अनुभव छ । यसैगरी गलत निर्णय गर्न नसक्ने, ऐन कानुन विपरित गएर निर्णय गर्न नमान्ने अवस्थामा डर र दवावमा निर्णय गर्नुको साटो सचिव आफैंले सरुवा मागेर हिँडेका उदाहरण पनि छन् । केही दुर्लभ अवस्थामा निर्णय क्षमता नभएका कारण सचिव आफैं सरुवा लिएर हिँड्ने पनि गरेका छन् । के हुन्छ असर ? निजामति सेवा ऐनमा एउटा कार्यालयमा कर्मचारीको सेवाअवधि दुई वर्ष तोकिएको छ । तर, सहसचिवबाट माथिको हकमा यो लागू हुँदन । उनीहरूका हकमा सरकारले चाहेको बेला जतिखेर जहाँ पनि सरुवा गर्न सक्ने अभ्यास अपनाइएको छ । पूर्वसचिव चन्द्र घिमिरे सचिहरूको छिटोछिटो सरुवा हुँदा त्यसको असर सरकारको सेवा प्रवाह र गुणस्तरमा पर्ने बताउँछन् । ‘कुनै मन्त्रालय वा कार्यालयमा सरुवा भएर जाँदा सम्बन्धित क्षेत्रको नीति, कानुन, ऐन, नियम, सरोकारवालालाई पनि चिन्नुपर्ने हुन्छ, यी सबैको अध्ययन गरेर/बुझेर योजना बनाएर अघि बढ्दा ५/६ महिनाको समय लाग्छ,’ घिमिरे भन्छन्, ‘तर, त्यसअघि नै सरुवा हुँदा नयाँ आउने सचिवले त्यो नबुझ्न पनि सक्छ वा उसले पनि बुझ्न लाग्दा उसैगरी सरुवा हुनसक्छ । अन्ततः यसको असर सरकारको सेवाप्रवाहमै पर्छ ।’ पूर्वसचिव शारदाप्रसाद त्रिताल कर्मचारी व्यवस्थापनका सरकार चुकेको टिप्पणी गर्छन् । पछिल्ला समय कर्मचारीको सरुवा, बढुवाको विकृति मौलाएर गएको उनको अनुभव छ । ‘सरकारले प्रशासनलाई भताभुंग बनाएको छ, प्रशासन सुधारमा थोरै पनि प्रयास गरेन,’ त्रिताल भन्छन् । यही कारण सरकार पाइलापाइलामा असफल बन्दै गएको उनी बताउँछन् । सचिव सरुवाको केही उदारहण : खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बराल २७ साउन ०७३ मा सचिवमा बढुवा भए । बढुवा भएयताको साढे चार वर्षको अवधिमा उनी नौ पटक सरुवा भए । यो अवधिमा उनी औषतमा ६ महिना एउटा मन्त्रालयमा सचिव रहे । यस्तो छ उनको सरुवा : क्षेत्रीय प्रशासक सुर्खेत र,क्षेत्रीय प्रशासक पोखरा – ६ महिनाराष्ट्रिय सूचना आयोग – तीन महिनामहिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – चार महिनाप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सात महिनाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – १७ महिनास्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ६ महिनाउपराष्ट्रपतिको कार्यालय – सात महिनाहाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गोपीनाथ मैनाली त्यस्तै, भदौ ०७३ मा सचिवमा बढुवा भएका मैनाली पनि बरालभन्दा फरक देखिँदैनन् । सचिवमा बढुवा भएयता करिब साढे चार वर्षको अवधिमा उनको आठ पटक सरुवा भएको छ । यसबीचमा उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १७ महिना काम गरे । यही नै सचिव कार्यकालमा एउटै मन्त्रालयमा सबैभन्दा लामो काम गरेको उनको अनुभव हो । पछिल्लो पटक उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । शिक्षा मन्त्रालयमा काम थालेको साढे चार महिनामै उनको सरुवा भएको छ । यस्तो छ उनको सरुवा : क्षेत्रीय प्रशासक पोखरा – एक महिनानिर्वाचन आयोग – १० महिनाप्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय – चार महिनासहकारी तथा गरिबी निवारण मन्त्रालय – ६ महिनाभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – १७ महिनामहालेखा नियन्त्रकको कार्यालय – १३ महिनाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – साढे चार महिनाहाल सार्वजनिक खरिद अनुगमन कार्यालय यादव प्रसाद कोइराला कोइराला पनि धेरै पटक सरुवा हुने सचिवमा पर्छन् । ४ असार ०७५ मा सचिवमा बढुवा भएका उनी त्यसयता ६ पटक सरुवा भएका छन् । अहिले उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत् छन् । यस्तो छ उनको सरुवा : प्रदेश १ मा कामु सचिव – तीन महिनाकाठमाडौं महानगरपालिका – एक वर्षसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – नौ महिनास्वास्थ्य तथा जनसंख्या मन्त्रालय – तीन महिनाप्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय – पाँच महिनाहाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केदार न्यौपाने २३ साउन ०७५ मा सचिवमा बढुवा भएका न्यौपाने पनि साढे दुई वर्षको अवधिमा ६ कार्यालयमा सरुवा भए । यस्तो छ उनको सरुवा : प्रदेश १ – नौ महिनाकाठमाडौं महानगरपालिका – १० महिनाभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – साढे ६ महिनाप्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय – एक महिनाउपराष्ट्रपतिको कार्यालय – चार महिनाहाल युवा तथा खेलकुद सूर्य प्रसाद गौतम ६ फागुन ०७५ मा सचिवमा बढुवा भएका गौतम त्यसयता दुई वर्षमा पाँचौं कार्यालयमा सरुवा गरिएको छ । उनले अहिलेसम्म एउटै कार्यालयमा सबैभन्दा लामो समय बसेको अवधि सात महिनामात्र हो । उनी महालेखा नियन्त्रक कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सात/सात महिना कार्यरत् रहे । यस्तो छ उनको सरुवा : महालेखा नियन्त्रक कार्यालय – सात महिनाभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – पाँच महिनासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – सात महिनासार्वजनिक खरिद अनुगमन कार्यालय – चार महिनाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

ताजा अपडेट

नेपालवाच विशेष