कांग्रेस केन्द्रीय समिति बैठक अघि, पौडेल पक्षको केन्द्रीय सदस्यको भेला

काठमाडौं । सभापति शेरबहादुर देउवाले पटकपटक महाधिवेशनमा विलम्ब गरेको भन्दै कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षले जेठभित्रै १४ औं महाधिवेशन गर्नका लागि दबाब दिने भएको छ । आज २ बजेलाई महाधिवेशन सार्नेसहितका समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी ओलीको कदमलाई बल पुग्ने गरी पटकपटक बोलेको र संकटका बेलामा नहुने निर्वाचनको लागि जोडबल गरेको भन्दै पौडेल पक्षले आपत्ति जनाउँदै छ । यसै प्रयास स्वरुप आज बैठक पूर्व ११ बजेपछि पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यको भेला केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ । ‘हामीले पटकपटक समय थपेर पनि समयमा महाधिवेशन गर्न सकेनौं । त्यसैले आज मुख्य दुई कुराको छलफलका लागि हामीले केन्द्रीय समितिको बैठक पूर्व हामी पक्षधर केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छौं । जुन बैठकले फागुनसम्म क्रियाशील सदस्यता सिध्याउने, चैतसम्म स्थानीय तहको अधिवेशन, वैशाखमा प्रदेश तहको अधिवेशन सकाएर जेठभित्र १४ औं महाधिवेशन गर्ने विषयलाई केन्द्रीय समितिमा लिएर जाने तयारी गरेको छ’ पौडेलपक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपालवाचसँग भने, ‘आन्तरिक बाहेक केपी ओलीले चालेको असंवैधानिक कदमकाविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्न हाम्रो जोड हुनेछ । अब अब ठूला सहर, प्रदेश र केन्द्रमा सभा गर्ने विषयलाई प्राथमिकता राख्नुपर्छ भन्ने विषय उठाउँछौं ।’ तर, देउवाको दाउ अर्कै ओलीको कदमलाई सिंगो देशले विरोध गरिरहेका बेला सभापति देउवाका हरेक अभिव्यक्तिले ओलीको बचाउ जस्तो देखिएको भन्दै पौडेल पक्ष आक्रोशित छ । अदालतबाट प्रतिनिधिसभा पुनस्थापना नभएर चुनावमा जाने अवस्थामा समयमा महाधिवेशन नगर्ने सोचले देउवाले चुनावलाई जोड दिएको निष्कर्ष पौडेल पक्षको छ । ‘ओलीको कदम असंवैधानिक भनेर सिंगो देशले विरोध गरिरहेको छ । तर, हाम्रो सभापति अझै पनि शक्तिमा पुग्न सकिन्छ, भोलि निर्वाचन भए आफैं टिकट बाँड्ने र पार्टीमा हावी हुने सोचमा देखिनुहुन्छ’ केन्द्रीय सदस्य घिमिरे भन्छन्, ‘सिंगो देश ओलीको कदम संविधान मास्ने र प्रतिगामी छ भनेर आन्दोलित भएको बेला हाम्रो सभापति शक्ति हत्याउने सोचमा मात्रै हुनु यो पक्कै राम्रो होइन भन्ने हाम्रो मान्यता हो । हामी पार्टीमा यस्तो गलत प्रवृत्तिको विरुद्धमा छौं ।’ आजबाट केन्द्रीय समितिको बैठक सुरु हुने भए पछि देउवाले प्रतिनिधिसभा विघटन अघि अदालतको फैसला आएपछि मात्रै महाधिवेशनको मिति घोषणा गरेर जाने नीति लिएका छन् । तर, पौडेल पक्ष आजैको बैठकबाट जेठमा महाधिवेशन गर्नुपर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुपर्ने छ । प्रतिनिधिसभा पुन:स्थापना हुन्छ भन्ने हिसाबले पार्टीले कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा पौडेल पक्षको जोड छ । नियमित अवस्थाा भएको भए आगामी फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन हुनुपर्ने हो । तर, महाधिवेशन अघि गर्नुपर्ने आन्तरिक समायोजन र क्रियाशील सदस्यता नवीकरण र वितरणमै कांग्रेस अल्झिरहेको छ । समयमा महाधिवेशन नभएपछि नियमित चार वर्षे कार्यकाल र थप एक वर्षको म्याद आगामी फागुन १९ बाट सकिंदैछ । त्यसपछि नेपालको संविधानले व्यवस्था गरिदिएको ६ महिनाभित्र कुनै हालतमा कांग्रेसले १४ औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया