विद्यार्थीले बनाइदिए पढाउने गुरुलाई २४ लाखको घर

चितवन । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो । स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए । घर निर्माणमा झण्डै रु २४ लाख खर्च भएको छ । चार लाख जिन्सीसहित रु २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफैंले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सकेका थिएनन् । सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गरे । ‘शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ’ महानायक हमालले भने । शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भने, ‘विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।’
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया