अनलाइन संचारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिन्छौं : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु तर्फ रहेको बताएका हुन् । पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ । संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि आग्रह गरे । मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफुले ध्यान दिएको बताए । प्रेस पास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनको भनाई छ । प्रेस पास वर्षै पिच्छे नवीकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्याउनको लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए । त्यसैगरी, पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाई छ । उनले अनलाइन सञ्चारमाध्यमहरु पुस मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी नवीकरण गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए । मन्त्री गुरुङले जुन सूचनाको माध्यमबाट हिंसा, अशान्ति, द्धन्द्ध सिर्जना हुन्छन् त्यसको व्यवस्थापनको बारेमा सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउने तर्फ आफ्नो ध्यान गरेको बताए । सोसल मिडियाहरु पनि कानुनी प्रक्रियामा आउनुपर्ने उनको भनाई छ । विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उनले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको बताए । उनले दश करोड रुपैँयाको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि बताए । मन्त्री गुरुङले बैशाख १७ र २७ गते निर्वाचन हुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने पनि बताएका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया