कोरोना महामारीमै विदेश जाँदै युवा

कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान शुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ । कोरोना महामारी शुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए । “कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो”, उनले भने, “गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।” विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उनको भनाइ छ । त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ । श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन् । कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष ०७६–७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिए । पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन् । खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया