वागमती प्रदेशसभा स्थगितले प्रदेश संरचनाप्रति नै वितृष्णा : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा वागमती प्रदेश संसदीय दलका नेताले हठात प्रदेशसभा बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् । माघ ७ गते वागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुइवटा मात्र बैठक बसेको भन्दै प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आपत्ति जनाएका हुन् । ‘माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो । त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन् । फलस्वरूप, प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेश सभा सदस्यहरूले पाएका छैनन्’ पौड्याद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘सत्ताधारी नेकपा भित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा गराएको स्थिति छ ।’ यसैबीच ५ फागुनको बैठक पनि स्थगित गरिएपछि उनले गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘यही २०७७ फाल्गुण ५ गते, दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेश सभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चित कालका लागि स्थगित गरिएको घटना प्रति विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ । विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको यो स्थगन अस्वाभाविक छ’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ पौष १० गते प्रदेश मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ ।’ अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रविर्तिको हामी विरोध गर्दछौँ भन्दै उनले ‘लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गर्दछौँ ।’ भनेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया