अब ठमेलका व्यवसायीले बिनाधितो १५ लाखसम्मको ऋण पाउने, यस्तो छ प्रक्रिया

काठमाडौं । ठमेलमा व्यवसाय गर्ने व्यवसायीहरूले १५ लाखसम्मको कर्जा पाउन सक्ने भएका छन् । ठमेल पर्यटन विकास परिषदद्वारा गठित कोभिड–१९ विपद समन्वय समितिको पहलमा कुमारी बैंक लिमिटेडले बिना धितो व्यवसायीहरूलाई १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सहमति भएको हो । बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै परिषद्का उपाध्यक्ष तथा विपद समन्वय समितिका संयोजक भविश्वर शर्मा र बैंकका डेपुटी सिइओ मनिश तिमिल्सिनाले संयुक्त रुपमा यसबारे जानकारी दिए । तिमिल्सिनाले व्यवसायीहरूलाई घर भाडा तिर्न, कर्मचारीलाई तलब÷सुविधा दिन समस्या भएको विकराल स्थितिलाई मध्यनजर गर्दै बैंकले सहयोग गर्ने प्रतिबद्धता लिएको जनाएका छन् । ‘ठहिटि र ठमेलमा बैंकको शाखा छ,’ तिमिल्सिनाले भने,‘यही क्षेत्रमा बसेको बैंकले ठमेलको विकास तथा पुर्नउत्थानका लागि केही सहयोग गर्नुपर्छ भनेर धेरै गृहकार्य गरेपछि यो निर्णय भयो ।’ सरकारले आहवान गरेको भिजिट नेपाल २०२० लाई साथ दिन भनेर व्यवसायीहरूले लगानी थप्ने र क्षमता अभिवृद्धि गरे । तर कोरोना महामारीको प्रकोपसँगै व्यवसाय ठप्प हुँदा साना तथा मझौला व्यवसायीको समस्या बढ्दै गयो । यो विपद्मा पनि व्यवसायीका लागि सरकारले कुनै सहयोग नगर्नु विडम्बना भएको शर्माले बताए । ‘कोभिड १९ को महामारीले व्यवसाय ठप्प हुँदा पनि राज्यले सहयोग नगरेको व्यवसायीहरूले गुनाशो गर्दै आएका थिए,’ शर्माले भने, ‘यसको लागि सम्बन्धित निकायलाई गुहार्दा कुनै सुनुवाई नभएपछि परिषदले आफ्नै अगुवाईमा कुमारी बैंकसँग सम्झौता गर्न सफल भयो ।’ व्यवसायीहरूले राहत प्याकेजको माग गर्दै राष्ट्र बैंक, अर्थ मन्त्रालय धाउँदा पनि सुनुवाई नहुँदा सडक आन्दोलनसमेत गर्न बाध्य भएका थिए । कसरी लिन सकिन्छ कर्र्जा ? यस्तो त प्रावधान सम्झौताअनुसार ठमेल पर्यटन परिषदमा सदस्य रहेका व्यवसायीहरूले घर÷जग्गाको धितोबिना नै १५ लाखसम्मको कर्जा पाउन सक्नेछन् । तर, त्यसका लागि उनीहरूले अन्य बैंकबाट कर्जा लिएको हुनु हुँदैन । यदि अन्य बैंकबाट पनि यसअघि कर्जा लिएको सन्दर्भमा उक्त बैंकबाट ‘नो अब्जेक्सन लेटर’ ल्याउनुपर्ने प्रावधान छ । अर्को बैंकको कर्जालाई पनि कुमारीमा ‘स्वाप’ गरेपछिमात्रै कर्जा पाइन्छ । कर्जा लिने भएपछि उक्त व्यवसायीले कुमारी बैंकबाटै आफ्नो आधिकारिक कारोबार गर्नुपर्ने हुन्छ । कर्मचारीको पारिश्रामिक, पोस मेसिन र क्यूआर पनि कुमारीसँगै आवद्ध हुनुपर्ने शर्त बैंकले राखेको छ । योसँगै कोरोना महामारी भन्दा अघि दुई वर्षसम्म घाटामा नरहेका र पर्यटनसँग सम्वद्ध व्यवसायीलाईमात्रै कर्जा दिने प्रावधन छ । चालु पूँजी अन्तर्गत अधिकतम १५ लाख रुपैयाँ १ वर्षका लागि लिन सकिनेछ । व्यवसायले वर्षदिनमा गरेको कारोबारको आधारमा एक वर्षपछि कर्जालाई नविकरण पनि गर्न सकिनेछ । आवधिक कर्जा लिने हो भने एकदेखि पाँच वर्षसम्मका लागि किस्ताबन्दीको रुपमा पनि कर्जा लिन सकिन्छ । यसको पनि अधिकतम १५ लाख रुपैयाँ नै हुनेछ । भन्नलाई बिना धितो भनिए पनि यो पूर्ण रुपमा धितो बिनाको कर्जा भने होइन । जग्गाजमिन धितो नभएपनि व्यवसाय नै धितोमा राख्नुपर्ने हुन्छ । यसको मतलब, व्यवसायमाथि पहिलो हक कुमारी बैंकको रहनेछ । आजैबाट कर्जाको लागि प्रक्रिया थाल्न सकिने र कर्जाबारे थप जानकारीको लागि कुमारी बैंकको नजिकको शाखामा सम्पर्क गर्न परिषदले सुझाएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया