सामाजिक अभियन्ताको सहयोग असुली धन्दा : संकलित करोडौं रकमको दुरुपयोग, पारदर्शीतामा प्रश्न

काठमाडौं । सामाजिक सञ्जालमा अभियन्ताको रुपमा चर्चित अर्जुन भुसालले ५ असार ०७६ मा फेसबुक लाइभ आएर चितवन माडीका विनोद रानाभाटको लागि सहयोग रकम जुटाउन अपिल गरे। भुसाल रानाभाटका बुबा र आमासँगै लाइभमा आएका थिए । लाइभमा भुसालले भनेका छन्, ‘मोहन रानाभाटका छोरा विनोद रानाभाट केही समयअघि विदेश जानुभयो । कामको शिलशिलामा विभिन्न कारण उहाँ जेल पर्नुभयो । अहिले उहाँलाई उद्धार गरेर नेपाल ल्याउनुपर्ने भएको छ ।’ भुसालसँग फेसबुक लाइभमा कुरा गरिरहेका विनोदका बुवा मोहनले आफ्नो छोरालाई कतारको ओकरा जेलमा राखिएको बताएका थिए । उनले भनेका थिए, ‘भारतीय कामदारबीच झगडा भएको देखेपछि छोराले उद्धार गर्छु भनेर एक जनालाई लिएर अस्पताल जाँदै रहेछ । तर, उता यस्तो बेलामा घाइतेलाई लिएर जाँदा प्रहरीले पक्रिएर उसलाई ओकरा जेलमा राखेको छ ।’ ‘ब्लड मनी’ का रुपमा ८२ लाख रुपैयाँ तिरे विनोद नेपाल फर्किन पाउने कतार सरकारले बताएको भुसालले लाइभमा नै भनेका थिए । त्यसैका लागि सहयोग गर्न भुसालले लाइभमार्फत् अनुरोध गरेका थिए । प्रभु बैंक चितवन शाखाको आफ्नो बैंक खातामा रकम जम्मा गरिदिन भुसालले आग्रह गरेका थिए । यसपछि भुसालसहित युट्युबर तथा आफूलाई अभियन्ता दावी गर्ने शिशिर भण्डारी, ज्वाला संग्रौलालगायतले पैसा उठाएका छन् । यसरी रानाभाटको उद्धारका लागि एक करोड २१ लाख ६८ हजार रुपैयाँ संकलन भएको छ ।उद्धारको लागि संकलन गरिएको रकम तिर्नु अगावै रानाभाट नेपाल आइपुगेका थिए । सरकारी प्रक्रियाबाटै कुनै पनि शूल्क नतिरि उनी नेपाल आइपुगेका थिए । भुसालकै अनुसार रानाभाटलाई कतार सरकारले आम माफी दिएर नेपाल पठाएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आइपुगेपछि मात्रै रानाभाट नेपाल आइपुगेको भनेर उनका लागि पैसा संकलन गर्ने अभियन्ताहरूले थाहा पाएको रकम संकलन गर्ने अभियानमा संलग्न ज्वाला संग्रौला बताउँछिन् । ‘हामीले बिनोदको लागि पैसा संकलन गरेका थियौं,’ ‘ज्वालाले नेपालवाचसँगको कुराकानीमा भनिन्, ‘तर, एक्कासी उनी नेपाल आएको खब हामीले थाहा पायौं । काठमाडौं आएपछि मात्रै उनलाई कतार सरकारले माफी दिएको जानकारी भयो ।’ उद्धारको नाममा पैसा संकलन, छैन पारदर्शीता भुसालले जस्तै सामाजिक सञ्जालमा आफूलाई अभियन्ता दाबी गर्नेहरूले विभिन्न बहानामा रकम संकलन गर्दै आएका छन् । तर, पारदर्शीताको विषय उठ्दा उनीहरू कि चुपचाप रहने गरेका छन्, कि त एकअर्कालाई दोषारोपण गर्छन् । भुसालले सुरु गरेको रानाभाट बचाउ अभियानमा संकलन भएको रकम उनको लागि खर्च नभएपछि अभियन्ताहरूबीचमै विवाद सिर्जना भएको थियो । उनीहरूले एकअर्कालाई आरोप प्रत्यारोप गरेका थिए । पछि भुसालसहित भण्डारी लगायतको टोलीले ‘सहयोगी नेपाल’ नामको संस्था दर्ता गरेर संकलित रकम त्यही संस्थाको बैंक खातामा जम्मा गरेका थिए । चितवन जिल्ला प्रशासन कार्यालयमा दर्ता नम्बर ४९ रहेको उक्त संस्थाको कृषि विकास बैंक, चितवन शाखामा खाता खोलिएको थियो । कृष्ण रानाभाट अध्यक्ष रहेको उक्त संस्थाबाट विनोद रानाभाटको लागि संकलन गरिएको रकम पछि ‘विपन्न र असाशायलाई वितरण गर्ने निर्णय गरिएको’ अर्जुन आफैंले फेसबुक लाइभमा आएर बताएका छन् । भुसालका अनुसार रानाभाटलाई उद्धार गर्न संकलन गरिएको रकम उनकै लागि खर्च नभएपछि जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी निकायसँग समन्वय गरेर सहयोगी नेपाल संस्थाबाट विभिन्न बिरामीहरूलाई सहयोग गरिएको थियो । भुसालले नेपालवाचसँग भने, ‘हामीले कार्यक्रम गरेर संकलित रकम संस्था स्थापना गरेर वितरण गरेका थियौं । १४ पुस ०७६ मा फेसबुक लाइभ आएर भुसालले रानाभाटका लागि संकलन गरिएको रकममध्ये ४८ लाख रुपैयाँ वितरण गरिएको बताएका छन् । उक्त लाइभमा कृषि विकास बैंकको स्टेटमेन्टसहित भण्डारी र आफूले सोही दिनसम्म वितरण गरेको रकमबारे भुसालले जानकारी दिएका छन् । रानाभाटको लागि संकलन गरिएको रकमबाट १ लाख रुपैयाँ भुसालजस्तै आफूलाई सामाजिक अभियन्ता दावी गर्ने जेरी ताम्रकारका बुबा आशकुमार ताम्रकारले पनि पाएका छन् । ताम्रकारको आर्थिक अवस्था ठिक हुँदाहुँदै र सुगरको मात्र समस्या हुँदा पनि अर्जुन र उनको टोलीले एक लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । जबकी ताम्रकारका छोरा आफैं मिसन नेपाल नामक संस्थाबाट अभियान संञ्चालन गर्ने र उनकै शब्दमा भन्दा विपन्न र असहायलाई सहयोग गर्दै हिँडछन् । भुसाल यो बारेमा सोध्दा आफूबाट गल्ती भएको स्विकार्छन् । उनी भन्छन्, ‘धेरैले दिदाँ ठिक हुन्छ भनेकाले मैले दिएको हुँ । बाहिरबाट देखिँदा म मात्रै देखिएँ । तर, त्यो मेरो एकल निर्णय थिएन् ।’यो अभियानमा संलग्न संग्रौला र भण्डारीसहितको छलफलले सो रकम दिने निर्णय गरेको भुसाल बताउँछन् । बुधवार दिउसो सम्पर्कमा आएकी संग्रौलालाई यसबारे प्रश्न गर्दा उनले भनिन्, ‘हामीले विदेशमा अलपत्र परेको नेपाली छोरालाई उद्धार गर्न खोज्दा तपाईंहरूले प्रश्न गर्ने ? कुन अभियन्ता कस्तो हो भन्ने हेर्नुहोस अनि मात्रै प्रश्न गर्नुहोस । नैतिकताको विचार गरेर प्रश्न गर्नुहोस ।’ आफूले के कति रकम यो अभियानको बेला उठाएकी थिइन् भन्ने बारेमा प्रश्न गर्दा भने ज्वालाले कुनै जवाफ नदिइ फोन काटिन् । लिदाँ व्यक्तिगत खातामा, वितरण गर्न संस्थाको स्थापना सामाजिक सञ्जालमार्फत चर्चा कमाएका जति पनि अभियन्ताहरू छन्, उनीहरूले विभिन्न वहानामा रकम संकलन गरिरहेका देखिन्छन् । यसका लागि उनीहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ‘टार्गेट’ गर्छन् । कहिले बिरामीको उपचार त कहिले स्कुल बनाउन भन्दै उनीहरू सामाजिक सञ्जालमा लाइभ आउने, भावुक भएर बोल्ने, रोइकराई गर्छन् । मानवीय संवेदना जोडिएको यस्ता विषयमा सहयोग पनि प्रशस्तै जुट्छ । यस्ता अभियन्ताहरूमध्ये कतिपय कानुनी रुपमा संस्था स्थापना गरेर त्यसैमार्फत् सहयोग ग्रहण र परिचालन गर्छन् भने कतिपय व्यक्तिगत रुपमा नै यस्ता अभियान सञ्चालन गरिरहेका हुन्छन् । भुसालले रानाभाटका लागि रकम संकलन गर्दा आफ्नो व्यक्तिगत खातामा जम्मा गरेका थिए । यता ज्वालाले पनि यो अभियानमा संलग्न हुँदा व्यक्तिगत रुपमा नै पैसा उठाएकी थिइन् । यसअघिका अभियानहरूमा पनि यी दुवैले व्यक्तिगत खातामा नै रकम संकलन गरिरहेका थिए । तर, यसरी संकलित रकमका सम्बन्धमा टिममै विवाद उत्पन्न भएपछि भुसाल र उनको टोलीले रातारात संस्था स्थापना गरेर त्यसैमार्फत् वितरण गर्न थाल्यो । अर्जुनका अनुसार विनोद रानाभाट बचाउ अभियानमा उनी माध्यममात्र बनेका थिए । उक्त अभियान त्यसअघि नै चितवनको माडी नगरपालिकाबाट सुरु गरिएको थियो । भुसाल भन्छन्, ‘मैले त्यतिबेला भूमिकामात्रै निर्वाह गरिदिएको हुँ । पुलमात्रै बनिदिएको हुँ । पैसा मेरो खातामा आयो, पछि त्यसलाई संस्थामार्फत वितरण ग-र्यौं ।’ यता अभियानको अर्की सदस्य संग्रौला भने यस विषयमा अर्जुनलाई नै सोध्न भन्छिन् । उनले भनिन्, ‘म त्यो बेला जापानमा थिएँ । मैले पैसा संकलनमा सहयोग गरेकी हुँ । बाँकी कुरा अर्जुनजीसँगै गर्नुहोस । हामी दीनदुःखीलाई सहयोग गर्न अभियान चलाएका हौं । यी कुराहरू केही नगर्नेहरूलाई सोध्नुस् ।’ भुसाल र संग्रौला दुवै यो अभियानमा सक्रिय रुपमा संलग्न थिए । तर, अहिले उनीहरू दुवैले एकअर्कालाई दोषारोपण गर्ने र विषयबाट पन्छिने मात्र गरिरहेका छन् । संकलित रकमको पारदर्शीताबारे जवाफ दिन सकिरहेका छैनन् । गृह मन्त्रालयका प्रवक्ता – गैरकानुनी काम कसैलाई सहयोग गर्ने नाममा व्यक्तिगत रुपमा चन्दा, सहयोग संकलन र वितरण गर्न पाइँदैन । यसरी रकम संकलन र वितरण गर्ने नाममा दुरुपयोग भइरहेको छ । यो गैरकानुनी हो । यसलाई स्थानीय प्रशासन र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले रोक्नुपर्छ । आर्थिक सुशासन विज्ञ भन्छन – यसरी पैसा उठाउनु गैरकानुनी हो आर्थिक सुशासनबारे जानकार तथा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली आफूलाई अभियन्ता भन्नेहरूले पैसा उठाउने कुरा कतैबाट पनि स्वभाविक नहुने बताउँछन् । उनीहरू निष्पक्ष भएर काम गर्नुपर्ने मैनालीको तर्क छ । ‘सामाजिक अभियन्ताहरूको बाहिरी रुप र भित्री रुप फरक हुनु हुँदैन,’ मैनाली भन्छन्, ‘तर, अहिले मैले देखेको छु, उहाँहरु बाहिर एउटा भन्नुहुन्छ भित्र अर्कै हुन्छ । बाहिर एउटा मिसन लिएर हिँडनुहुन्छ, तर भित्र अर्कै हुन्छ ।’ अभियानको नाममा यसरी पैसा संकलन गर्ने र त्यसको खर्चलाई पनि पारदर्शी बनाउन नसक्नुले सम्पूर्ण सामाजिक अभियानमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना हुने मैनालीको बुझाइ छ । उनी भन्छन्, ‘उहाँहरू साँच्चै सामाजिक अभियन्ता हो भने निस्पक्ष हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।’ नेपालको कानुनी व्यवस्थाले अभियानको नाममा पैसा उठाउन नपाउने व्यवस्था गरेको मैनाली बताउँछन् । तर, यस्ता विषयमा राज्यले छानबिन गर्न नसक्नु र कारबाही गर्न नसक्नु राज्यको कमजोरी भएको उनी बताउँछन् । राज्य संरचना अन्य कुरामा अलमलिदाँ यी अभियान र अभियन्ताहरुलाई राज्यले ध्यान दिन नसकेको र उनीहरु कारबाहीबाट बचेको मैनाली बताउँछन् । थप पढ्नुहाेस् सामाजिक अभियन्ताको गैरकानूनी धन्दाः संकलित रकमको पारदर्शितामा प्रश्न गर्दा अश्लील धम्की सामाजिक अभियानका नाममा विकृति : सामाजिक असन्तुष्टिमाथि प्रचारको खेती
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया