शिक्षा सचिवबाट ५ महिनामा हटाइएका मैनालीले के–के गरे ?

काठमाडौं । नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव गोपीनाथ मैनालीको शिक्षा मन्त्रालयको यात्रा ५ महिना नपुग्दै टुंग्याइदिएको छ । शिक्षा मन्त्रालयबाट सरुवा भएका मैनालीले उपराष्ट्रपति कार्यालयको सचिवका रुपमा रमाना बुझेका छन् । कुनै पनि सचिव पदस्थापन भएपछि कम्तीमा उनले त्यहाँको नीति निर्माण तहमा केही संस्थागत सुधारका काम गर्न सकून् भन्ने मनसाय राख्ने निजामती सेवाको मान्यतालाई मिच्दै मैनालीलाई ४ वर्षमा ८ पटक सरुवा गरिएको हो । निजामती सेवामा कर्मचारी सरूवा हुनु सामान्य कुरा भए पनि जसलाई जति मन लाग्यो त्यति सरूवा गर्न पाइँदैन । पदअनुसार सरूवाको हद निजामती सेवा ऐनले नै तोकिदिएको छ । ऐनमा सहसचिवभन्दा मुनिको पदमा दुई वर्षसम्म सरूवा नगर्नू भन्ने उल्लेख छ । दुर्गमका हकमा आवश्यकता हेरेर अठार महिनामा सरूवा गर्ने व्यवस्था ऐनमा पाइन्छ । सहसचिवका हकमा निजामती ऐन बोलेको छैन । तर, कम्तीमा एक वर्ष सरूवा गर्न हुँदैन भन्ने मान्यताका आधारमा कर्मचारी प्रशासन र सरकारको निर्णयको नजीर बसेको छ । सचिवका हकमा पनि वर्षदिन वा दुई वर्षमा सरूवा गर्ने स्थापित मान्यता छ । राजनीतिक अस्थिरता र चाकरीतन्त्रको भुमरीमा घुमेको सरकारको प्रत्यक्ष शिकार बनेका मैनाली कर्मचारी वृत्तमा इमान्दार र स्वच्छ छवि भएकै कारण बारम्बार सरुवाको नियति भोग्दै आएको कर्मचारीवृत्तमा चर्चा चल्दै आएको छ । गोपीनाथ मैनालीलाई निजामती सेवाको मर्म विपरित कुनै पनि मन्त्रालयका सचिवलाई सरुवा गर्ने स्थापित मान्यता तोडेको सरकारले ४ वर्षमा ८ पटक सरुवा गर्यो । कुनै पनि सचिव आफ्नो मन्त्रालयमा पदस्थापन भएपछि कम्तीमा उनले त्यहाँको नीति निर्माण तहमा केही संस्थागत सुधारका काम गर्न सकून् भन्ने मान्यताको सरकारले उलंघन गरेको हो । पछिल्लो पटक उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्नुपूर्व पछिल्लो ३ दिनमा ३ ठाउँमा सरुवा गरिएको स्रोतको दावी छ । मैनालीलाई सुरूमा सार्वजनिक अनुगमन कार्यालयको सरुवा प्रधानमन्त्री कार्यालयले ४८ घन्टासम्म होल्ड गरेको थियो । त्यसपश्चात, निजामती सेवामा लेखा अधिकृतबाट जागिर छोडेका व्यक्ति सदस्य रहेको वित्त आयोग जान अपमानित ढंगबाट दबाब दिइएपछि वित्त आयोगमा पठाउने भए राजीनामा दिने मैनालीले मनस्थिति बनाएकाले उनलाई उल्लेख्य काम नहुने उपराष्ट्रपति कार्यालयमा मंगलबार सरुवा गरी थन्क्याइएको स्रोतको दावी छ । स्रोत भन्छ, ‘उनले यो नियति अहिले मात्र भोगेका होइनन् । यसअघि शिक्षा सचिव हुनुपूर्व उनलाई महालेखापरीक्षकको कार्यालयबाट युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको र त्यस सरुवापछि राजीनामा बुझाउने मनस्थिति बनाएपछि शिक्षा सचिव बनाएको हो ।’ ४ वर्षमा कहाँकहाँ भयो मैनालीको सरुवा ? २०७३ सालमा सचिव भएका मैनालीको पहिलो पोस्टिङ क्षेत्रीय प्रशासन कार्यालय पोखरामा भएको थियो । उनले त्यहाँ एक महिना मात्र काम गर्ने मौका पाए । दोस्रो चरणको निर्वाचनभन्दा दुई दिन अगाडि निर्वाचन आचारसंहिता विपरित निर्वाचन आयोग सरुवा गरिएका मैनालीलाई नौ महिनामै जगेडामा प्रधानमन्त्री कार्यालय पठाइयो । प्रधानमन्त्री कार्यालयको जगेडामा चार महिना रहेपछि उनलाई कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी एकैठाउँ गाभिएर बनेको कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी मन्त्रालयमा चार महिना राखियो । त्यसपश्चात फुटेको भूमि, सहकारी र गरिबी मन्त्रालयमा करिब एक वर्ष काम गर्न दिइयो । त्यहाँबाट उनलाई महालेखापरीक्षकको कार्यालयमा सरूवा गरी तेह्र महिना काम गर्न दिइयो । त्यहाँबाट उनलाई शिक्षा मन्त्रालयमा ५ महिना मात्र काम गर्न दिइयो र त्यहाँबाट हालै उपराष्ट्रपतिको कार्यालयमा पुर्याइएको हो । के गरे मैनालीले शिक्षामा ? सचिवको हैसियतले दीगो काम गर्ने मौका नपाएका गोपीनाथ मैनालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा २०७५ असोज ५ गतेदेखि फागुन ५ गतेसम्म शिक्षा सचिवका रुपमा कार्य गरे । मैनालीको कार्य अवधिमा भएका प्रमुख १३ कार्यहरू यस्ता थिए : १. अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी नियमावली २०७७ स्वीकृत भै जारी भएको ।२. कोभिडको संक्रमणका कारण वन्द रहेका विद्यालयहरूको सञ्चालनलाइ व्यवस्थित गर्न स्थानीय तहवाटै आवश्यक निर्णय हुने प्रवन्धसहित विद्यालय सञ्चालन कार्यढाँचा २०७७ जारी गरिएको ।३. कोभिडको संक्रमणका कारण प्रभावित भएको शैक्षिक सत्रको व्यवस्थापन र विद्यार्थी स्थानान्तरण सम्वन्धी विषयलाई व्यवस्थित गर्ने लगायतका अत्यावश्यक व्यवस्थाका लागि शिक्षा नियमावली २०५९ मा नवौ संशोधन गरिएको ।४. डा. गोविन्द केसीको १९ सौ अनसनको अन्तका लागि आवश्यक कार्यहरू र सम्झौता गरिएको ।५. कक्षा ११ को पाठ्यक्रमको विवाद समाधान गरिएको ।६. कोभिडको संक्रमणका कारण प्रभावित सबैतहका तालिम र परीक्षा सञ्चालन सम्वन्धी व्यवस्थालाई सहजीकरण गरी सुचारू गरिएको ।७. कोभिडको संक्रमणका कारण स्थगित रहेको कक्षा १२ को परीक्षा सञ्चालन व्यवस्थापन र नतिजा प्रकाशनका काममा सहजीकरण गरिएको ।८. विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरिएको ।९. Donor MissionM School Sector Development Plan (SSDP), Joint Review Mission_December १०. Steering Committee Chair of DP support Educational ProjectM EVENT II, ENSURE, NVQS II, Post SSDP Plan Preparatiopn, TVET Sector Plan Development११. प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राष्ट्रिय योग दिवस माघ १ गते मनाइएको ।१२. विगत केही बर्षदेखि राष्ट्रिय शिक्षा दिवस मनाउने दिन निश्चित नभएकोले शिक्षा सम्बन्धी पहिलो कानून जारी भएको दिन माघ ८ (१९९६ मा शिक्षा इस्तिहार जारी भएको) लाई राष्ट्रिय शिक्षा दिवस मनाउने गरी तय गरिएको ।१३. नेपाली पहिचान र मौलिका संरक्षणका लागि धेरै नेपाली बसोबास गर्ने मुलुकमा नेपाली मूलका बालबालिकालाई प्राथमिक तहसम्म नेपाली भाषा, संस्कृति पठन पाठनका सम्बन्धमा सहजीकरण भएको । सचिव सरुवा हुँदा मैनालीले आफ्नो समयमा गरिएको, गरिँदै गरेका र गर्न वाँकी प्रमुख कामहरुको संस्थात्मक सम्झना हस्तान्तरण गर्ने सन्दर्भमा नेपाली मूलका व्यक्तिलाई केही संख्यामा पूर्वीय दर्शन, भाषा र साहित्य नेपालमा पढ्नका लागि उच्च शिक्षामा छात्रबृत्ति दिने लगायतका १९ प्रकारका काम उल्लेख गरेका थिए । संस्थात्मक सम्झना हस्तान्तरण गर्ने काम मैनालीले आफू पटक पटक सरुवा भएको सन्दर्भमा संस्थाको प्रभावकारिता बढाउन सजिलो होस् र महत्वपूर्ण कामले निरन्तरता पाउन भनेर शुरु गरेका थिए । उनले यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा हँुदा माननीय मन्त्रीको उपस्थितिमा सवै उच्च पदस्थ कर्मचारीलाई संस्थात्मक सम्झना हस्तान्तरण गरेका थिए भने महालेखा नियन्त्रकबाट शिक्षा सचिवमा सरुवा हुदा पनि बहाली हुने महालेखा नियन्त्रकलाई १७ बँुदे संस्थात्मक सम्झना हस्तान्तरण गरेका थिए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया