NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

‘नाइट लाइफ’ खोलौं – सिइओ रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले राजनीतिक अस्थिरताका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताएका छन् । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा भएका काम र महामारीले निम्त्याएका चुनौतीबारे समीक्षा गर्ने क्रममा रेग्मीले काम विशेषले मन्त्रालय जाँदा उनले आफूलाई पढाउन हिँडेजस्तो लाग्ने बताए । मन्त्री र सचिवको फेरबदलले पूर्वनिर्धारित कामलाई अघि बढाउन गाह्रो भएको बताउँदै उनले भने,‘कहिले मन्त्रीज्यू फेरिनु भएको छ, कहिले सचिवज्यू फेरिने, सहसचिव ज्यू फेरिने, पुरानो कर्मचारी फेरिएका छन्, त्यही पुरानो काम गर्न लाग्यो भने फेरि नयाँ तरिकाले जानु पर्छ, अनि गर्ने के ? अगाडि गरिसकेको कूरा बारम्बार त्यही कूरा भन्नु परेको छ, भन्दा नराम्रो सुनिएला म मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो लाग्छ ।’ रेग्मी सिइओ भएर आएपछि एक वर्षमा दुईजना मन्त्री फेरिइसकेका छन् । कोभिड–१९ पछि पर्यटक भित्र्याउन सरकारकै नीति तगारो बनिरहेको उनको आशय थियो । पर्यटक ल्याउनका लागि सरकारले अराइभल प्रोटोकोल पनि खुकुलो पार्नुपर्ने उनको माग छ । पछिल्लो समय पर्यटकका लागि बनाएको प्रोटोकल नै अलमलमा पर्दा पर्यटन क्षेत्र नै धरासयी हुने अवस्थामा पुगेको उनले बताए । सरकार आफ्नो सत्ता बचाउमा लाग्दा पर्यटन क्षेत्र उपेक्षामा परेको बताउँदै उनले भने, ‘लाखौं जनता जम्मा भएर आन्दोलन गर्दा कोभिड नदेखिने । पर्यटकले सुरक्षा अपनाएर पैसा खर्च गरेर नेपाल घुम्न आउँछु भन्दा आउन नपाउने अवस्था छ ।’ पर्यटन क्षेत्रमा हालसम्म डेढ खर्ब लगानी कार्यक्रममा रेग्मीले नेपालको पर्यटन क्षेत्रमा हालसम्म डेढ खर्बको लगानी भएको बताए । बोर्डले हालै गरेको एक सर्भेअनुसार हालसम्म पर्यटन क्षेत्रमा डेढ खर्ब लगानी भएको छ भने ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । उक्त सर्भेमा ८ सय ३७ जना सहभागी भएको सिइओ रेग्मीले जनाए । ‘नाइट लाइफ’ लाई खोलौं सिइओ रेग्मीले नाइट लाइफलाई बेलैमा खोल्न सरकारलाई सुझाएका छन् । ‘अन्य देशमा घुम्न गयो भने आठ बजेपछि खाना खाएर घुम्न जान सकिन्छ । नेपालमाचाँहि आठ बजेपछि खाना खाएर सुत भनेजस्तो छ,’ उनले भने, ‘कि त यो देश धर्मकर्म गर्नेमात्रै बनाउनुप¥यो । पर्यटक आगमन बढाउने हो भने सिस्टम बनाएर नाइट लाइफ खोलिदिनुपर्छ ।’ पर्यटन उद्योगलाई २४ घण्टै चलायमान बनाउन पहल गर्नुपर्ने उनले बताए । पर्यटकीय गतिविधि बढाउने हाल पर्यटकीय गतिविधि कम भएकोमा यसमा काम गर्नुपर्ने उनले बताएका छन् । ट्राभल तथा टुरलाई प्याकेजमा काम गर्न पनि उनले जोड दिएका छन् । नेपालको पर्यटनलाई सबै सिजनमा पर्यटनका रुपमा विकास गर्न तथा पर्यटकको बसार्ई लम्बाउन नयाँ गतिविधिमा ध्यान दिनुपर्ने उनले बताए । ‘हिमाल आरोहण तथा ट्रेकिङ, पहाडमा हिल स्टेसनसहितको पर्यटकीय हब र तराईमा क्यासिनो सहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नुपर्छ’, उनले भने । यसका लागि बोर्डले पनि अवधारणा तयार गरि काम अघि बढाएको उनले बताए । डिजिटल डाटाबेसमा जाने पर्यटकीय गतिविधिबारे पूर्ण रुपमा सूचना प्रवाह गर्नका लागि बोर्ड डिजिटल डाटाबेसमा जाने भएको छ । रेग्मीका अनुसार यसबारे गृहकार्य सुरु भइसकेको छ । डिजिटल डाटाबेसमा गएसँगै नेपालमा हुने पर्यटकीय ‘प्रोडक्ट’ बिकाउनका लागि सजिलो हुने उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष