अब ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाटै

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ । बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गरे । ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए । सहज र प्रभावकारी ढङ्गले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहजरुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरे । बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुने गरी काम गर्न निर्देशन दिए । प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए । प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाहसमेत ठीक नहुने भएकाले शुद्धीकरण अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बाटोबाटोमा पैसा उठाउनका लागि बैंकिङ प्रणालीको सुरुआत गरिएको बताए । प्रहरीको सेवा प्रवाह समयसापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ। बैंकिङ प्रणालीबाट जरिवाना सङ्कलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाजसमेत छिटो छरितो हुने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताए । बैंकिङ प्रणालीमार्फत कारोवार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकलाई भने समस्या हुने भन्दै उहाँले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिए । बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने तथा बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।रासस
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया