सरकार–विप्लव हस्ताक्षर कार्यक्रममा कुर्सी नपाएपछि आफैंले ल्याएर बसे काठमाडौं महानगरका मेयर शाक्य

काठमाडौं – शुक्रबार काठमाडौँमा वृहत् समारोहबीच सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर भयो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को उपस्थितिमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गरे । उक्त कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व सभामुख सुवास नेम्वाङ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायतको उपस्थिति थियो । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको हेर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता, विप्लपका कार्यकर्ता तथा पत्रकारहरूले सभागृह पूर्ण रुपमा भरिभराउ थियो । कार्यक्रम शुरु भएपछि हलभित्र प्रवेश गर्ने जोकोहीले पनि खुट्टा टेक्ने ठाउँ समेत थिएन । कार्यक्रम सुरु भएको केही समयपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुगे । तर, हल पहिले नै भरिभराउ भएकाले बस्नका लागि उनले कुर्सी पाएनन् । न त कसैले उनका लागि कुर्सी छोडिदिए । त्यसपछि उनले सभागृहका सुरक्षाकर्मीलाई कुर्सी लिन पठाए । र, आफ्ना लागि कुर्सीको व्यवस्था आफैंले गरे । सुरक्षाकर्मीले पनि कुर्सीलाई अन्य सहभागी भन्दा पनि अगाडि हुनेगरी राखिदिए । एकछिन दायाँबायाँ पल्याकपुलुक हेर्दै मेयर शाक्य सबैभन्दा अगाडि बसे । कुर्सीमा बसेपछि मात्र उनले ठ्याक्कै अगाडि रहेका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नमस्ते गरे । प्रधानमन्त्रीले पनि मुसुक्क हाँस्दै अभिवादन गरे ।
प्रतिक्रिया