NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

सरकारसँग नेकपाको सहमति सकारात्मकः मन्त्री गुरुङ

सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको बताएका छन् । दोलखाली दिदीबहिनी समूहले आयोजना गरेको वसुन्धरास्थित कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका गुरुङले यस्तो बताएका हुन् । कार्यक्रममा उनले वर्तमान सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने पनि बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्छ,’ उनले भने, ‘यो सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम छ ।’ मन्त्री गुरुङले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूण्र्न राजनीतिमा ल्याएको बताउँदै अब देशमा थप शान्ति कायम भएको उल्लेख गरे । सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताइन् । चौध वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा बढी पीडामा परेकालाई उद्धार गरी सम्बन्धित संस्थामा बुझाएको र हाल तीन जना ज्येष्ठ नागरिकलाई संस्थाले संरक्षण गरिरहेको छ । कार्यक्रममा दोलखामा जन्मिएर विभिन्न स्थानमा कर्मथलो बनाएका करिब दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सञ्चारमन्त्रीका प्रेस विज्ञ राजेन्द्र मानन्धर, विज्ञापन बोर्डका सदस्य बलराम थापा, मन्त्री गुरुङका विश्लेषक सन्तोष खड्कालगायत छन् ।

ताजा अपडेट

नेपालवाच विशेष