राष्ट्रपतिद्वारा ‘मेक इन नेपाल अभियान’लाई शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसंघले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताकोे शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकामा धन्यवाद व्यक्त गरिन् । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । निजी क्षेत्र र सरकारबीच औद्योगिक वातावरण र उद्योग विकासमा समान धारणाको विकास हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नका लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेको प्रसंग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आत्मनिर्भरता र अन्तरनिर्भरता दुवै संस्कारको रुपमा अगाडि बढिरहेको धारणा राखे । राष्ट्रपतिबाट कतिपय उत्पादन देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सुझाव दिए । नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारको टड्कारो आवश्यकता देखिएको बताउँदै निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनु पर्ने राष्ट्रपतिको भनाइ छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आमजनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने बताए । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी अभियानका बारेमा अवधारणा प्रस्तुत गरेका थिए । छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको बताए । यस्तै, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउनेलगायतका विषयमा राष्ट्रपतिलाई जानकारी गएका थिए ।
प्रतिक्रिया