कोरोना कहर : जापानको टोकियोमा संकटकाल अवधि फेरि थपियो

काठमाडौं । जापानको राजधानी टोकियो क्षेत्रमा संटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ । संकटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि संकटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले संकटकाल लम्ब्याउने निर्णय गरेका हुन् । प्रधानमन्त्री सुगाले संकटकालको म्याद अहिले दोस्रो पटक थप्नु भएको हो । उनले गत जनवरीमा संकटकाललको घोषणा गरेका हुन् । उनले कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सबैलाई आह्वान गरेका छन् । स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिदै आएका थिए ।
प्रतिक्रिया