NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

युवाहरूलाई महत्वपूर्ण जिम्मेवारी दिन्छौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा आएका नवप्रवेसी युवाहरुलाई महत्वपुर्ण जिम्मेवारी दिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताउँदै नेकपामा प्रवेश भएका युवाहरुलाई पार्टीले महत्वपुर्ण जिम्मेवारी दिने बताएका हुन् । शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उनले भने, ‘मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।’ पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको प्रचण्डको भनाइ छ । प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पारे । पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उनले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राख्दै यही पार्टी नै आधिकारिक नेकपा रहेको दाबी गरे । ‘कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ,’ उनले भने, ‘चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताए । नेपालले पार्टीको नाम र चुनाव चिह्नको संघर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गरे । चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उनीहरूलाई स्वागत गर्न आतुर रहेको बताए । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष