NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

अटिजम भएका बालबालिकालाई शिक्षासँगै सिप दिदैं सबिता

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित पुरानो सिनामंगल । बाहिरबाट सामान्य भवनजस्तै लागेपनि ‘विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र’ भित्रबाट नामजस्तै विशेष छ । यहाँ अटिजम भएका बालबालिकाहरुलाई थेरापीसागै शिक्षाको वातावरण विकास गरिएको छ ।अटिजम भएका बालबालिकाको लागि शिक्षा दिनलाई खोलिएको यो स्कुलकी अध्यक्ष हुन सबिता उप्रेती । पढाईसँगसँगै बालबालिकाहरुलाई थेरापी र उनीहरुको लागि उचित वातावरणको सिर्जना गर्नलाई यो स्कुल सुरु गरिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अटिजम भएका बालबालिकाहरुलाई समाजमा लुकेर वा लुकाइएर राखिन्छ । उनीहरुलाई पनि अरुले जस्तै बाहिर आउन र सामान्य मान्छेले जस्तै जीवन जिउने वातावरणको सिर्जना गर्न हामीले यो स्कुल सिर्जना गरेका छौं ।’ दोलखाबाट आफ्नो पढाईका लागि काठमाडौं आएकी सबिताले केही ठाउँमा अटिजम भएका बालबालिकालाई देखेकी थिइन् । तर, ती बालबालिकाका लागि राज्यले केही पनि व्यवस्था गरिएको थिएन् । सबिता भन्छिन्, ‘उनीहरुका लागि राज्यले केही व्यबस्था गरेको नदेखेपछि मन थाम्न नसकेर विद्यालयको सुरुवात गरें ।’ शिक्षासँगै सिप सबिताले सुरुवात गरेको यो स्कुलमा बालबालिकाको लागि शिक्षा मात्रै दिइदैंन् । उनीहरलाई शिक्षा र थेरापीसँगै भविष्यमा काम लाग्ने सिप पनि सिकाइन्छ । अटिजमको समस्या भएतापनि गर्न सकिने कामहरु सिकाएर उनीहरुलाई उद्यमशील बनाउन प्रयास गरिएको सबिता बताउँछिन् । उनी भन्छिन्, ‘विभिन्न किसिमका खादा, टोपी बुन्ने काम सिकाउँछौं । यी कामहरु सिकेर गर्न सकेमा भोली उनीहरुले समाजमा आफूलाई देखाउन सक्छन् भन्ने लाग्छ ।’ केही वर्षअघि पेप्सीकोलामा जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको विद्यालयलाई हाल भने भक्तपुरको ताथली क्षेत्रमा आफ्नै भवन निर्माण गरेर सार्न लागिएको सबिता बताउँछिन् । उनी भन्छिन्, ‘नयाँ भवन भएपछि बालबालिकाको संख्या पनि थप्न सकिन्छ ।’ नयाँ भवन निर्माणका विभिन्न ठाउँबाट सहयोग जुटेको बताउँछिन् सबिता । त्यहि सहयोगको भरमा भवन निर्माण गरिएको उनले सुनाइन् ।