कोरानाले बढायो असमानताको खाडल : अर्बपतिलाई उठ्न ९ महिना, गरिबलाई एक सय बर्ष

३० डिसेम्बर २०१९ मा पहिलो पटक विश्व स्वास्थ्य संगठनलाई चीनले कोरोनाको बारेमा सूचीकृत गरेयता विश्वभर एक वर्ष कोरोनाको प्रकोप यथावत रह्यो । विश्वभरका अधिकांश देशहरुले लकडाउन भोगे, व्यपार, व्यवसाय, आर्थिक गतिविधि सबै ठप्प भयो । अहिले विभिन्न देशमा उत्पादिन खोपसँगै जीवनशैली साधारण भइरहेको छ । मान्छेको जीवनशैली विस्तारै कोभिड अघिकै समयमा फर्किरहेको छ । तर, कोभिडको सुरुवात हुनुभन्दा अघि र कोभिड पछि हेर्दा विश्वका प्रायः देशहरुमा गरिब–धनीबीचको खाडललाई भने यो भाइरसले झन् चौडा बनाइदिएको छ । धनी र गरिबबीचको दुरी झन् ठूलो बनेको छ । अक्सफैमले हालसालै प्रकाशित गरेको एक रिपोर्टका अनुसार कोरोना कारण विश्वका एक हजार अर्बपतिहरुले गुमाएको अर्थतन्त्र महामारी अघिको अवस्थामा पुग्न बढीमा ९ महिना लाग्नेछ । तर, पहिले नै आफ्नो अर्थतन्त्र कमजोर भएका गरिबहरुको अर्थतन्त्र पुरानै अवस्थामा फर्किन एक शताब्दीभन्दा बढि समय लाग्ने उक्त रिपोर्टले जनाएको छ । विश्वका ७९ देशका २९५ अर्थशास्त्रीहरुको विचारलाई संग्रहित गरेर प्रकाशित गरिएको उक्त रिपोर्टमा ८७ प्रतिशतले संसारभर नै महामारीको परिणामको रुपमा आर्थिक असमानता हाबी हुने देखिएको बताएका छन् । रिपोर्टमा विश्वमा कोरोना महामारी सुरु भएयता विश्वका सबैभन्दा धनी १० अर्बपतिले यति कमाएका छन् कि त्यो सम्पत्तिले पृथ्वीका कसैलाई पनि कोरोना महामारी र यसको भ्याक्सिन किनेर गरिबीको रेखामा पर्नबाट रोक्न सक्छ । कोरोना महामारीपछि विश्वमै देखिने आर्थिक असमानतालाई विश्लेषण गर्दै इन्टरनेसनल मोनिटरी फन्डकी कार्यकारी प्रमुख क्रिस्टलिना जर्जियावाले भनेकी छिन्, ‘आर्थिक र सामाजिक उथलपुथल ल्याउने किसिमको असमानता देखापर्छ । र यसको प्रभाव निकै गहन हुनेछ । यसको प्रभाव अबको दशकौंसम्म पनि हामीले भोग्नुपर्ने हुन्छ ।’ मानवीयसँगै आर्थिक क्षति कोरोना महामारीलाई इतिहासमा याद गर्न यसले विश्वभर पु¥याएको मानवीय क्षति पर्याप्त छ । तर, यसको प्रभाव भने मानवीय क्षतिभन्दा बढी आर्थिक क्षतिमा परेको अक्सफैमको रिपोर्टले जनाएको छ । कोरोनालाई लाखौंले आफ्नो आर्थिक स्थितिलाई झन् नाजुक बनाएको छ । आफूमाथि हुने असमानतालाई थप बढाएकोमा याद गर्नेछन् । विश्व बैंकका अनुसार वर्षेनी धनी र गरिबबीचको असमानता २ प्रतिशतले मात्रै बढेमा ५० करोड १० लाख (५०१ मिलियन)भन्दा बढी मानिसहरु सन् २०३० सम्म पनि दैनिक ५५० अमेरिकी डलर बराबरको खर्चमा बाँच्नुपर्ने हुन्छ । र त्यो बेला कोभिड सुरु हुनुभन्दा अघि जति मानिस गरिबीको रेखामुनी थिए, थप बढनेछ । सरकारले आर्थिक असमानतालाई कम गर्न कुनै पनि कदम नचालेमा गरिबी थप बढ्ने र सन् २०३० सम्म ८६ करोड मानिस गरिबीको रेखा मुनी बाँच्नुपर्ने अवस्था सिर्जना हुने रिपोर्टले देखाएको छ ।रिपोर्टमा भनिएअनुसार वर्षेनी दुई प्रतिशतले बढिरहेको असमानतालाई कम गर्न सकेमा महामारीभन्दा अघिको अवस्थामा पुग्न केवल तीन वर्ष लाग्नेछ । महामारीपछि झन् थपियो अर्बपतिको सम्पत्ति अक्सफैमको रिपोर्टले आर्थिक असमानता बारेमा गरिएको असमानतालाई प्रस्तुत गरेको छ । उक्त रिपोर्टमा विश्वका अर्बपतिहरुको सम्पत्ति महामारीको समयमा बढेको देखाइएको छ ।यसअघि ब्लुमबर्गले प्रस्तुत गरेको एक सूचीमा पनि आम मानिसको लागि निकै दुःखद् रहेको महामारीको समयमा विश्वका अर्बपतिहरुको लागि भने ‘स्वर्ण युग’ जस्तै साबित भएको देखिएको थियो । कोरोना महामारीकै बीच सन् २०२० मा विश्वका ५०० जना धनी मानिसहरुको सम्पत्तिमा २३ प्रतिशतको वृद्धि भएको थियो । जुन १३ खर्ब अमेरिकी डलर हुन आउँछ । अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कले त यहि समयमा सबै रेकर्ड तोडेका थिए ।नेपालकै छिमेकी मुलुक भारतका अर्बपती मुकेश अम्बानीले पनि यो समयमा २२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति बढाएका थिए । विश्वमा सन् १९३० मा भएको ‘ग्रट डिप्रेसन’ सँग कोरोना महामारीको अवधिमा भएको आर्थिक अभावलाई तुलना गरिएको छ । विश्व बैंकका अनुसार विश्वभर कै जिडिपीमामा ५.२ प्रतिशतको संकुचन देखिनेछ भने विश्वको अर्थतन्त्रमा देखिएको अभाव सन् १८७० यताकै सबैभन्दा बढी हुनेछ ।तर, विश्वको अर्थतन्त्रमा देखिने यो परिवर्तन देशका निम्न र मध्यम वर्गसम्म बढी जोडिने र अर्बपतिहरुलाई नछुने किसिमको हुने उक्त रिपोर्टमा प्रस्तुत गरिएको छ । आर्थिकसँगै वर्गीय र लैंगिक असमानताको भाइरस कोरोना महामारीले पहिले नै असमान रहेको विश्वलाई थप असमान बनाएको विश्लेषण गरिन्छ । महामारीका कारण धनी र गरिब बीचमात्रै नभएर जातीय, नश्लीय तथा लैंगिक रुपमा पनि असमानता देखिएको अक्सफैमको रिपोर्टले देखाएको छ । रिपोर्टका अनुसार महामारीकै बीचमा अमेरिकाजस्ता देशमा काला जातिका मानिसहरुले रोजगार गुमाउने जोखिम बढी थियो । त्यस्तै, अन्य देशमा पुरुषको तुलनामा महिलालाई कामबाट बढी निकालियो । इतिहासबाटै किनाराकृत गरिएका र दबाइएका समुदायलाई कोरोना महामारीले थप बढोत्तरी दिएको रिपोर्टमा निष्कर्ष निकालिएको छ । अनुसन्धानमा सहभागीमध्ये आधाभन्दा बढी (५६ प्रतिशत)ले विश्वमा लैंगिक विभेद बढ्ने निष्कर्ष निकालेका छन् भने दुई तिहाई (६६ प्रतिशत)ले नश्लीय विभेद बढ्ने निष्कर्ष निकालेका छन् । यो प्रभाव स्वास्थ्य, शिक्षा, पेशादेखि सामान्य जीवनशैलीमै पनि देखिनसक्ने बताइएको छ ।कोरोना महामारीले देखाइदिएको कमजोर स्वास्थ्य व्यवस्थामा झन् विभेद र असमानता थपिंदा यसले दीर्घकालसम्मै असर गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया