NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

तनहुँ दुलेगौंडाका जनता भन्छन् – हिउँदे झरीमा पनि खोला तर्न सकिँदैन, पुल हालिदिन पर्यो

काठमाडौं । बुधबार दिउँसो असिनासहित परेको वर्पाका कारण तनहुँस्थित दुलेगौंडा–साँखे क्षेत्रका स्थानीयबासीलाई आवतजावतमा समस्या भएको छ । सो क्षेत्रमा झरी पर्नासाथ खोलानालामा पानीको बहाव बढ्ने तर आवश्यकताअनुसार पुल नहुँदा आवतजावत कठिन बन्ने गरेकाले आवश्यक पुल निर्माण गरिदिन सरकारसँग स्थानीयबासीले माग गरेका छन् । ब्धबार दिउँसो असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडाहुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको स्थानीय सुष्मा पोखेरेलले बताइन् । उनका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । हिउँदे झरी पर्दा र वर्षाको समयमा बराहखोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा पीडित बन्ने गरेको उल्लेख गर्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औंल्याए । दुलेगौंडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए । तरकारीबाली र सुन्तलाखेतीमा क्षति हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षाको समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिए । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पुर्याएको उनले बताए ।