प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको हुंकार– एमालेमा बस्नेले प्रचण्डको गृहकार्य नगर्नू !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सुर्य थापाले पूर्वमाओवादी केन्द्रबाट नेकपाहुँदै नेकपामा आइपुगेका नेताहरुको टिप्पणी गरेका छन् । थापाले पूर्वमाओवादी कित्ताका नेतालाई पाँच वर्ष सरकार चलाउन प्रधानमन्त्री ओलीको सहयोगी बन्न समेत सचेत गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही बेरअघि लेखेका छन्, ‘सके पाँच वर्ष सरकार चलाउन उहाँ (ओली)को सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उत्तम हुन्छ !’ उनले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्यो भन्ने माग नै वाहियात र बकवास रहेको टिप्पणीसमेत गरेका छन् । ‘केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे ? वाहियात ! यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न,’ उनले लेखेका छन् । थापाले साविक नेकपाका अर्का अध्यक्ष हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को गृहकार्य बोकी एमालेमा बसेर प्रधानमन्त्रीलाई दबाब दिने कोसिश गर्न नखोज्नु नै श्रेयस्कर हुने पनि प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको राजीनामा मागेर बेमौसमी बाँसुरी बजाउन खोज्दा नेकपा नै टुक्रिएको संकेत पनि उनले गरेका छन् । ‘सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बुद्धिमत्तापूर्ण हुन्छ,’ थापाले लेखेका छन् ।
प्रतिक्रिया