दैलेख दुर्घटना अपडेटः दुई जनाको मृत्यु

बिहीबार बिहान कर्णाली राजमार्गको दैलेख खण्डमा भएको मिनीबस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने, १६ जना घाइते भएका छन् । कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए । बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् । बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । गम्भीर घाइते भएका उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ ।
प्रतिक्रिया