एमाले स्थायी कमिटीमा ओली र नेपाल को बलियो ? यस्तो छ अंकगणित

काठमाडौं । एमालेमा फर्किएपछि बुधबार केपी ओलीविरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति बनाएको माधव नेपाल पक्षले बिहीबार आफू निकटका स्थायी कमिटी सदस्यको भेला बोलाएको छ । माओवादीसँग एकीकरण अघिको सांगठनिक संरचना अनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकालेको माधव पक्षले ओली पक्षको पेलान नसहने निष्कर्ष पनि निकालेको छ । नेपालमा पक्षमा १२ स्थायी कमिटी सदस्य छन् । जसमा नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल छन् । त्यस्तै, उपमहासचिव घनश्याम भूसाल, तीन सचिवमा गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई र सदस्य सुरेन्द्र पाण्डे छन् । माओवादीसँग पार्टी एकीकरणपछि बेदुराम भुसाल र रघुजी पन्त याे पक्षबाट थपिएका थिए । प्रभावशाली नेताहरु आफ्नो साथमा रहेपछि नेपाल पक्षले एमालेलाई एकतावद्ध बनाएर जाने तर, अध्यक्ष ओलीसँग अस्वस्थ सम्झौता नगर्ने नीति लिएकाे छ । ओलीतिर को को ? नेपालको तुलनामा ओली समूह स्थायी कमिटीमा कमजोर छ । यो समूहमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन् । वामदेव गौतम तटस्थ देखिएका छन् । ओली खेमाकै विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । माओवादीसँग पार्टी एकतापछि ओलीको तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ थपिएका थिए ।
प्रतिक्रिया