जसपा सचिवालय बैठक जारी, सत्ता साझेदारीबारे आजै निर्णय हुने

प्रधानमन्त्री केपी ओली अल्पमतमा पर्ने देखिएपछि नयाँ सत्ता समीकरणका लागि जसपासँग नजिकिने प्रयास गरिरहेका छन् । जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे विचार गरिरहेको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा अहिले जसपा सचिवालय बैठक बसिरहेको छ । ओलीसँग सत्ता साझेदारी गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए । सरकारमा जाने विषयमा बुधबार पनि पदाधिकारी बैठक बसेको थियो । तर, बुधबारको बैठकबाट कुनै ठोस निर्णय हुन नसकेपछि अहिले पुनः बैठक बसेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो लगायतका नेता सहभागी छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि र नेकपालाई एमाले र माओवादी नै रहने फैसला गरेपछि सत्ता समीकरणका लागि नयाँ कोर्स सुरु भएको छ । माओवादी केन्द्रले केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सत्ता सहकार्य गर्न प्रस्ताव राखिरहेको छ ।
प्रतिक्रिया