ओलीलाई साथ दिने जसपाको संकेत, आजै प्रधानमन्त्रीसँग भेट गर्दै

नेकपा खारेज भएपछि उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार रहने कि नरहने भन्ने चर्चा चल्दै आएको छ । माओवादी केन्द्रले सरकारबाट हात झिक्ने र कांग्रेससँग मिलेर सरकार बनाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली पनि जनता समाजवादी पार्टीलाई साथमा लिएर सरकार टिकाउने रणनीतिमा लागेका हुन् । ओलीको रणनीति अनुसार नै केही सर्त राखेर जसपाले ओली सरकारलाई साथ दिने संकेत देखिएको छ । बिहीबार बसेको जसपा सचिवालय बैठकले आजै साँझ प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरेको छ । बैठकपछि साँझ दलका शीर्ष ५ नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने भएका हुन् । पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रममा पार्टीको भूमिकाबारे प्रधानमन्त्री ओलीलाई स्पष्ट पार्न साँझ भेट हुन लागेको हो । स्रोतका अनुसार केही सर्त राखेर जसपाले सत्ता साझेदारी गर्नसक्ने विषयबारे बैठकमा छलफल भएको थियो । आज साँझ प्रधानमन्त्रीसँग भेट गर्ने र शुक्रबार जसपाले आफ्नो संसदीय दलको नेता छनोट गर्ने निर्णय पनि भएको छ । संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया