NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

फेरि एकपटक क्रान्तिमा जान्छुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू फेरिक एकपटक क्रान्तिमा जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अझै युद्ध नसकिएकाले क्रान्तिमा जान तयार भएको बताएका छन् । ‘म छोड्नेवाला छैन म एकचोटी पुनः क्रान्तिमा जानेवाला छु । लड्नेवाला नै छु,’ उनले भने, ‘एउटा ब्याटल त जितियो तर अझै केही ब्याटल जित्नै पर्ने छ । आउने दिन उज्याला हुनेछन् ।’ देशको परिस्थिति जटिल र चुनौतीपूर्ण बनेको भन्दै अहिलेसम्म प्राप्त भएका राजनीतिक उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको बताए । ‘केपी प्रवृत्तिविरुद्ध १९ पेजको दस्तावेज लेख्दै गर्दा जनयुद्धको दस्तावेज लेखेको अनुभूति भएको थियो । भएकै छ,’ उनले भने, ‘अब पनि केपी प्रवृत्तिविरुद्ध जानी बुझेर सम्झौता गर्नु भनेको गलत हुन्छ भनेर नै प्रहार गरेको हो ।’ दाहालले अहिले शान्तिपूर्ण रुपमा युद्ध चलिरहेको बताए । उनले भने ‘युद्ध जितेका छैनौं। राजनीतिक परिवर्तनमाथि हमला भइरहेको छ ।’ उनले अब आफूले देशव्यापी जनतासँग जोडिने अभियान चलाउने तयारी गरिरहेको बताए । दाहालले भने, ‘अब म काठमाडौंमा भन्दा अभियानमा बढी बस्ने विचारमा छु । जनतासँग नै बस्ने मेरो योजना छ।’ माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक र राष्ट्रिय कार्यकर्ता भेला बोलाउन लागिएको भन्दै उनले त्यसबाट थप रणनीति बन्ने बताए ।