सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने कसरत !

काठमाडाैं । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेकका नेतालाई प्रधानमन्त्री बनाएर नेकपाको एकता जोगाउने कसरत सुरु भएको छ । ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपाको एकता जोगाउने नयाँ कसरत सुरु भएको हो । एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूले नेम्वाङलाई प्रधानमन्त्री बनाएर एकता जोगाउने कसरत सुरु गरेका हुन् । नेकपाको एकताको निरन्तरताबारे जानकार एमालेका एक पोलिटब्यूरो सदस्यका अनुसार घनश्याम भुसाल, शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, जनार्दन शर्माहरू यो कसरतमा लागि परेका छन् । तर, केपी ओली आफूले राजीनामा दिएर नेम्वाङ्लाई प्रधानमन्त्री बनाउने पक्षमा छैनन् । २३ फागुनमा सर्वोच्च अदालतका न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ओली–प्रचण्ड नेतृत्वको नेकपालाई बदर गरी दिएर साविक एमाले, माओवादी केन्द्र नै यथावत रहेको फैसला गरेपछि ओली दंग छन् । त्यसैले उनले नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपाको एकता जोगाउने युवाहरूको प्रयासलाई स्वीकार गर्ने संभावना न्यून छ । प्रचण्डले ओलीविरुद्ध गत कात्तिक २८ मा १९ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । त्यसपछि ओलीले १३ मंसिरको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिउत्तर प्रतिवेदन पेश गर्दै प्रचण्डसँग मिलेर जान नसकिने संकेत गरिसकेका छन् । स्रोत भन्छ, ‘त्यसैले ओली नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपाको एकता जोगाउन राजी हुने संभावना भने कम छ ।’ प्रधानमन्त्रीमा निरन्तरताका लागि ओलीलाई एमालेका सांसदहरू नै फ्लोर क्रस गरेनन् भने १७ मतको मात्र आवश्यकता छ । जसका लागि संभव भएसम्म जनता समाजवादी पार्टीको सिङ्गो समूह, त्यो संभव नभए महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितको पूर्व राजपाको साथ लिएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहने ओलीको योजना छ । त्यसका लागि जनता समाजवादी पार्टीको ठाकुर समूहले ‘ग्रिन सिग्नल’ देखाईसकेको छ । स्रोतका अनुसार घटनाक्रम कस्तोसम्म देखिँदैछ भने जनता समाजवादी पार्टीको सिङ्गो टिमले नै ओलीलाई साथ दिने संभावना बढ्दो छ । आज २७ फागुन बिहानसम्म पनि प्रधानमन्त्रीमा ओलीको निरन्तरतालाई कुनै हालतमा साथ दिन सकिँदैन भन्ने अडान राख्दै आएका बाबुराम भट्टराई, उपेन्द्र यादवसमेत दिउँसो बसेको जनता समाजवादी पार्टीको शीर्ष बैठकबाट लचक बनेका स्रोतको दावी छ । यद्यपि जनता समाजवादी पार्टीका नेता गंगा श्रेष्ठ दुई दिनको ‘सिनारियो’ हेर्दा कतिपयलाई चिज त्यतातिर गएको हो कि भन्ने लाग्न सक्छ । तर, आज बसेको शीर्ष नेताहरू बाबुराम भट्टराई (विद्यावारिधी), महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोको बैठकले ५ चैत्रमा केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ । त्यसबेलासम्म शीर्ष पाँच जना नेताहरूले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ठूला दलहरूसँग संवाद गर्नेछन् । ‘हामीभित्र केही साथीहरूमा हाम्रा लागि सबै बराबर हुन् । सबैले धोका दिएकै हुन् । त्यसैले हाम्रा माग पूरा गर्छन् भने जोसँग सत्ता सहकार्य गरे पनि हुन्छ भन्ने पनि होलान्,’ श्रेष्ठको कथन छ, ‘तर, गुण र दोषका आधारमा कसले बढी धोका दिएको छ भन्ने पनि हेर्नुपर्छ । यस अर्थमा ओलीसँग छलफल एउटा कुरा हो । राजपाको सत्ता गठबन्धन हुँदैन ।’ राजपाभित्रको महन्त ठाकुर समूहले साथ दिएन भने चाही अन्तिम क्षणमा ओलीले नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपासँग एकता गर्नसक्ने उनी निकट एक जना केन्द्रीय सदस्य बताउँछन् । एमाले र माओवादी केन्द्रका दोस्रो पुस्ताका नेताहरूले सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर एकता जोगाउने कसरत सुरु गरेका हुन् । नेकपाको एकताको निरन्तरताबारे जानकार एमालेका एक पोलिटब्यूरो सदस्यका अनुसार घनश्याम भुसाल, शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, जनार्दन शर्माहरू यो कसरतमा लागि परेका छन् । ‘शंकर पोखरेल, घनश्याम भुसाललगायतले नेम्वाङलाई प्रधानमन्त्री बनाएर एकताबद्ध भएर जाने मोडल अघि सारेका हुन् । तर, प्रधानमन्त्री ओली त्यसमा सहमत भएका छैनन्,’ उनी भन्छन्, ‘अहिलेसम्म प्रधानमन्त्री ओली महन्थ ठाकुरहरूले साथ दिन्छन् भन्नेमा ढुक्क छन् । कथंकदाचित साथ दिएनन् भने अन्तिममा ओलीले सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन पनि सक्छन् । राजनीतिमा त्यो संभावना छँदै छैन भन्ने त होइन । तर, न्यून छ ।’ एकता जोगाउन पहिलेदेखि नै प्रयास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल २० फागुनमा बुटवल जाने तयारीमा थिए । तर, यात्रा केही समयपछि धकेलेर उनी सिंहदरबारस्थित संसद् सचिवालयको एउटा कोठामा पुगे । जहाँ उनलाई ५ पुसमा मात्र प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका पूर्व कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल पर्खिरहेका थिए । त्यहाँ भुसाल र पोखरेलबीच झण्डै ४५ मिनेट संवाद भयो । उनीहरूबीच नेकपाको एकतालाई कसरी जोगाउने भन्ने विषयमा संवाद भएको थियो । दुवै नेता नेकपालाई एकताबद्ध बनाएरै लैजानुपर्ने मान्यता राख्छन् । त्यसका लागि आवश्यक परे अघिल्लो पुस्ताले त्याग गर्नुपर्ने उनीहरूको मत छ । तर, उनीहरूको मतलाई अघिल्लो पुस्ताका प्रधानमन्त्री ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरूले स्वीकार गरिरहेका छैनन् । भुसाल र पोखरेल पूर्व एमालेभित्र होस् वा नेकपा बनिसकेपछि– संभावनायुक्त नेतामा गनिन्छन् । तर, उनीहरू सधैं भिन्न–भिन्न समूहमा छन् । पोखरेलले जहिल्यै ओलीलाई साथ दिइरहेका छन् । भुसाल ओलीसँग कहिल्यै सहमत छैनन् । यद्यपि पार्टीभित्र संकट पर्दा यि नेताहरूले एकापसमा भेटेर मिलाउने प्रयत्न गर्दै आएका छन् । जानकारका अनुसार पछिल्ला दिनमा ओलीले भुसाल, भट्टराई, पुनलाई शत्रुतापूर्ण आँखाले हेरिरहेका छन् । त्यसैले पनि उनीहरूले अघि सारेको प्रस्तावमा ओली सहमत हुने संभावना कम छ । किनभने ओली प्रतिशोध साँध्ने नेताहरूमध्ये अगुवामा पर्छन् । एमालेभित्रकै नेपाल निकट समूहले भने भुसाल, पोखरेलहरूले नेम्वाङलाई प्रधानमन्त्री बनाएर नेकपाको एकता जोगाउन अघि सारेको प्रस्तावको भित्र–भित्रै बिरोध गरिरहेका छन् । नेम्वाङ पनि ओलीकै प्रतिछायाँ भएकाले त्यो प्रस्ताव स्वीकार्य हुन नसक्ने उनीहरूको बुझाई छ । ‘ओली र नेम्वाङमा के फरक छ र नेम्वाङलाई प्रधानमन्त्री बनाउने ?’, नेपाल समूहमा रहेका एक जना केन्द्रीय सदस्य भन्छन्, ‘एकता जोगाउन भुसाल, पोखरेल, पुन, शर्मा, भट्टराईले गरेको प्रयत्न आफ्ना ठाउँमा सह्रानिय होला । तर, त्यो पनि अग्रगामी कदम चाहिँ होइन ।’
प्रतिक्रिया