वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न तयार छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक समाजवाद र साम्यवादका लागि आफू लड्न तयार भएको बताएका छन् । काठमाडौंस्थ्ति प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगानाको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । विप्लव समूहका नेता अनिल शर्मा विरहीले प्रचण्डले कम्युनिष्ट शास्त्र र दर्शन भुलेको भन्दै शास्त्रमाथि छलफल गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफ्नो हार भए विप्लव नेतृत्वकै पछि लाग्ने बताएका छन् । कार्यक्रममा बोल्दै उनले आफू वैज्ञानिक समाजवाद र साम्यवादको लडाइँमा लाग्न तयार भएको स्पष्ट पारे । नेत्रविक्रम चन्द (विप्लव)ले सरकारसँग सहमति गर्दै शान्तिपूर्ण बाटो लिए पनि सो बाटोमा विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आफू तयार भएको पनि बताए । ‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘छलफलमा बसौं कति दिन बस्नुपर्ने हो , इमान्दारिताका साथ बसौं, तपाईहरुले जित्नुभयो भने म तापाईका पछि लाग्छु ।’ आफू शान्ति प्रक्रियामा आएपछि जनयुद्धका धेरै मुद्दा सम्बोधन भएकाले जनयुद्धका कुनै मुद्दा पनि सम्बोधन भएनन् भन्नु गलत भएको पनि उनले दाबी गर्दै शान्तिपूर्ण बाटोबाटै वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न आफू तयार भएको दोहोर्याए ।
प्रतिक्रिया