NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ललिता निवासको जग्गामा संरचना नबनाउन सरकारको निर्देशन

काठमाडौँ । अतिक्रमणमा परेको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गामा कुनै भौतिक संरचना नबनाउन र बनाइरहेको भए रोक्न भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले निर्देशन दिएको छ । अतिक्रमित सरकारी जग्गामा घर टहरा निर्माण गर्ने काम नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छन् । उनले मन्त्रिस्तरको निर्णयबाट घर टहरा लगायत उक्त जग्गाको भोगचलन रोक्न निर्देशन दिएकी हुन् । मन्त्रालयले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ । सरकारी जग्गा अतिक्रमण भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरिसकेको अवस्थामा नक्सापास र संरचना निर्माण रोक्न मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसको अन्तिम टुंगो नलाग्दासम्म रोक्न निर्देशन दिएको जनाएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख अभियुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।