NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सत्ता समीकरणको गृहकार्यमा देउवा सक्रिय, माओवादी केन्द्र र जसपासँग शुक्रबार छलफल गर्दै

काठमाडौं । सत्ता समीकरणबारे निर्णयका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहकार्य अघि बढाएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सरकारको नेतृत्व गर्न निर्णय लिएको एक सातापछि देउवाले सत्ता समीकरणका लागि अरु विपक्षी दलहरुसँग संवाद अघि बढाएका हुन् । यसैका लागि देउवाले भोलि(शुक्रबार) बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरेरै सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल सुरु गर्ने भएका छन् । पार्टीभित्र र माओवादी केन्द्रबाट समेत दबाबमा परेपछि देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहित तीन दलको बैठक बोलाएका हुन् । सत्ता समीकरणकै लागि निवास बुढानिलकण्ठमा बिहीबार साँझ निकटस्थ नेताहरुबीच संवाद गर्दै परामर्श लिएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार बस्ने तीन दलको बैठकमा केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने, अविश्वास प्रस्ताव, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ । देउवाले बैठक बोलाएपछि सुर्खेतमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (बिहीबार) नै काठमाडौं फर्किने भएका छन् । माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । सरकारमा जानेबारे जसपाभित्र डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोको दुई धार देखिएको छ । भट्टराई पक्ष सरकारमा नजाने र ठाकुरपक्ष सरकारमा जाने पक्षमा छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्ता समिकरणमा अग्रसरता लिने निर्णय गरिसकेको छ । माओवादी केन्द्र र जसपाको स्पष्ट धारणा आएपछि नयाँ सत्ता समीकरणका लागि देउवा थप अगाडि बढ्ने देखिएको छ ।