NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

ख्यालख्यालमै कर्णाली पुलबाट हाम फालेपछि…

कैलाली । ‘जोशमा होस गुमायो भने राम्रो हुँदैन’ हाम्रो गाउँरतिर प्रचलित उखान हो यो । अझ तातो रगतको किशोर उमेरमा त ढुंगै चपाए पनि पचाहालौंला भन्ने जोश हुन्छ । तर, त्यही जोशले कहिलेकाहिँ ज्यानैसमेत जान्छ । यस्तै तीन जना किशोरको हठका कारण कर्णाली नदीमा अप्रिय घटना भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय ठाउँ कर्णाली पुलबाट लहैलहैमा हाम फालेका तीन जनामध्ये एक जना किशोर अझै बेपत्ता छन् । एक जना सकुशल छन् भने एक जना गम्भीर घाइते भइ अस्पताललमा उपचाररत छन् । शनिबार कर्णाली पुलमा सधैझैं घुमफिरका लागि पुगेका आन्तरिक पर्यटकहरू पुलमाथि रमाइरहेका थिए। समूह(समूह बनाएर केहीले फोटो खिचिरहेका थिए भने केहीले भिडियो बनाइरहेका थिए । पुलको सुरक्षार्थ खटिएका चौकीदारले भिड नियालिरहेका थिए। कर्णाली पुलमा भिडलाई व्यवस्थित पार्न, पर्यटकहरू आए÷गएको विवरण राख्न र रेखदेखका लागि भनेर सडक विभागले दुई जना चौकीदार राखेको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिर्घ बोगटीका अनुसार पुलमा दैनिक बाक्लो संख्यामा मानिसहरू आउने गरेको बताए । यसैबीच कैलालीको लम्कीस्थित ब्राइट फ्यूचर अंग्रेजी स्कुल कक्षा १० मा पढ्ने ८ जना किशोरहरू पनि दिउँसो तीन बजेतिर चिसापानी पुगेका थिए । उनीहरूले शुक्रबार नै चिसापानी जाने भनेर योजना बनाए पनि घर परिवारलाई खबरै नगरी त्यहाँ पुगेका प्रहरी निरीक्षक बोगटीले बताए। दिउँसो पुलमा पुगेर उनीहरू रमाइलो गर्न थाले । केहीले फोटो खिचे। केहीले भिडियो बनाउन थाले। सँगै गएका ८ जनामध्ये ५ जना पुलको एकापट्टि बसे भने बाँकी ३ जना पुलको अर्को पट्टी थिए । प्रहरी इन्स्पेक्टर बोगटीका अनुसार यसैबीच उनीहरू आपसमा जिस्कँदै नदीमा हाम फाल्न सक्छौं कि, सक्दैनौं ?, म सक्छु भन्दै ठट्टा गर्न थाले । जिस्कँदा जिस्किँदै केहि समयपछि ३ जनाको समूहमा रहेका लम्कीका १७ वर्षिय लोकेश प्याकुरेलले कर्णालीमा हाम फाले । उनलाई देखेर उनीसँगै रहेका १८ वर्षिय सन्जय खड्का पनि नदीमा हाम फाले। त्यसपछि १७ वर्षिय वीरेन्द्र सिंह पनि लोकेश र सन्जयले जसरीनैं नदीमा हाम फाले । उनीहरू एक पछि अर्को गर्दै हामफालेको पुलमा रहेका अरू युवाले पनि देखेका थिए । नदीमा र्‍याफ्टिङ गरिरहेकाले पनि उनीहरूलाई हाम फाल्दै गरेको देखेका थिए । ‘कतिपयले उनीहरू हाम फालेको भिडियो पनि बनाएका रहेछन्’, प्रहरी निरीक्षक बोगटीले भने । हामफाल्ने मध्येका वीरेन्द्र सिंहले साथीहरूलाई बचाउन आफूले नदीमा हाम फालेको प्रहरीलाई जवाफ दिएका छन् । बोगटीका अनुसार ती तीन जनामध्ये वीरेन्द्रलाई पौडी खेल्न आउने र बाँकीलाई अलि अलि मात्र पौडी खेल्न आउँथ्यो । वीरेन्द्र पौडी खेलेर नदी बाहिर आए । घाइते भएका लोकेशलाई डुंगावालाले उद्धार गरे। लोकेशको छाती पानीमा बजारिएको हुनाले घाइते भए । घटनाको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर प्रहरीले वीरेन्द्रलाई सोधपुछ गर्दा आफूहरू आपसमा जिस्केर नदीमा हाम फालेको र म उनीहरूलाई बचाउन हाम फालेको भन्ने जवाफ दिएका थिए । नदीबाट उद्धार गरि बाहिर निकालिएका लोकेश घाइते भई बोल्न सक्ने अवस्थामा थिएनन् । उनको नाकबाट रगत बगिरहेको थियो । छातीमासमेत चोट लागेकाले तत्कालै उनलाई उपचारका लागि प्रहरीले नेपालगन्ज पठायो । नदीमा हाम फालेका सन्जय फेला परेनन् । उनको खोजीका लागि शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र आफन्तले टिकापुरबाट दुई वटा र्‍याफ्ट ल्याएर खोजी तिब्र पारेको प्रहरी निरीक्षक बोगटीले बताए । घटना घटेको २४ घण्टा बितेसक्दा पनि उनको केही अत्तोपत्तो छैन । आफूसँग साधन नभएको तथा र्‍याफ्टिङबाट मात्रै हो उद्धार गर्ने काम हुने उनले भने । बेपत्ता किशोर मामामाईजुसँग बस्दै आएका थिए । उनका आमाबुबा भारतका कामको शिलशीलमा गएका थिए । तर घटनाबारे थाहा पाए पछि रातारात गाडी रिजर्ब गरेर छोराको खोजी गर्ने बाबु नेपाल आइपुगेका छन् । सुदूरपश्चिम प्रवेशद्धारका रूपमा रहेको कर्णाली पुल मुलुककै नमूना पुल हो । उर्लँदो कर्णाली नदीमाथि बनेको यो पुल हेर्न दैनिक सैयौंको संख्यामा पर्यटकहरु आउँछन् ।