NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

वीरगञ्जमा कोरोना संक्रमितको ग्राफ बढ्दो

काठमाडौं । प्रदेश २ स्थित वीरगञ्जमा कोरोना भाइरसको दोस्रो लहरबाट संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । देशका अन्य सहरको तुलनामा वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढी रहेको छ । गतवर्ष देशभर लकडाउन चलिरहेको समयमा ०७६ चैत २९ गते वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि लकडाउन खुला भएपछि १ वर्ष पुग्दा वीरगञ्जमा कोरोना संत्रमितको ग्राफ दिनहुँ बढिरहेको छ । आइतबार वीरगञ्जमा पहिलो कोरोना संक्रमित भेटिएको एक वर्ष पुगेको छ । यसवर्ष पनि कोरोना संक्रमितको संख्या वीरगञ्जमा बढी देखिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा चैत २३ गते २८ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो ५ दिनमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमा पर्सा, बारा र केहि अन्य जिल्लाका संक्रमित छन् । आइतबार ६० जनाको परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना पर्साका र ५ जना बाराका रहेका छन् । भारतका विभिन्न सहरमा कोरोना संक्रमित बढेसँगै नेपालबाट विभिन्न कामका लागि भारत पुगेका नेपालीहरु स्वदेश फर्किन थालेपछि सीमानाकामा स्थानीय प्रशासनले कडाइ गरेको छ । वीरगञ्ज पनि भारतसँग सीमानाका जोडिएको सहर भएकाले भारतबाट नेपाल फर्कने नागरिकको संख्या त्यहाँ धेरै रहने गरेको छ ।