NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बोइङका पाटपुर्जा बिक्री गर्दै निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले आफूसँग स्टकमा भएका बोइङ जहाजको पाटपुर्जा बिक्री गर्ने भएको छ । उक्त जहाज नउडाउने घोषणा भएको दुई वर्षपछि जहाजका पाटपुर्जा बिक्री गर्न लागिएको हो । निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ बैशाखमा उक्त बोइङबाट उडान नगर्ने उद्घोष गरेका थिए । यतिबेला निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले पाटपुर्जा बिक्रीका लागि टेन्डर आह्वान गरेका छन् । बिक्री गर्ने भनिएको जहाजको इन्जिन र पार्टस्को मूल्य ३५ करोड रुपैयाँ हुनसक्ने अनुमान निगमले गरेको छ । बिक्री गर्नका लागि राखिएका पाटपुर्जामध्येको इन्जिन यतिबेला स्पेनमा छ । मर्मतका लागि स्पेन लगिएको उक्त इन्जिन नेपालमा बोइङ विस्थापन भएपछि ल्याइएको छैन । सो इन्जिन पनि स्पेनबाटै बिक्री हुने जनाइएको छ । निगमसँग भएका दुईवटा बोइङ ७५७(कर्णाली र गण्डकी) मध्ये कर्णाली चार वर्षअघि नै बिबि एयरवेजलाई १.७ मिलियन डलरमा बिक्री भइसकेको छ । अर्को जहाज गण्डकी तत्कालीन कार्यकारी अध्यक्ष खरेल निगममा हुँदा ६७ करोड रुपैयाँमा बिक्री हुने पक्का भएको थियो । उक्त जहाज खरिदमा इच्छुक अमेरिकी कम्पनी सीएसडीले अढाइ करोड रुपैयाँ डिपोजिट पनि गरेको खरेलले बताए । तर, सम्झौता भएको समयमै उनी निगमबाट बाहिरिए । कोरोना महामारीको कारण देखाउँदै ओझेलमा परेको जहाज बिक्री प्रक्रिया अहिलेसम्म पनि टुंगिसकेको छैन । बोइङमा बढ्दो समस्या आजभन्दा चार दशकअघि बोइङ नेपाल ल्याउँदा दक्षिण एसियाली मुलुकमा बोइङ किन्ने नेपाल पहिलो मुलुक थियो । सन् १९७२ सेप्टेम्बर ९ मा तत्कालीन सानेवानीले बोइङ ७२७ सञ्चालनमा ल्याएको थियो । त्यसपछि निगमले पश्चिमी मुलुक लण्डन, पेरिस, दुबई, फ्यांक्रफ्ट लगायतका गन्तव्यमा उडान गरेको थियो । यीबाहेक बोइङले सुरुवाती दिनमा सार्क र दक्षिण एसियाका कराँची, माले, ढाका, कोलम्बो, म्यानमार, सिंगापुर, ओसाका, साङघाई, कोलकत्ता, मुम्बई, दिल्ली लगायतका शहरमा उडान गथ्र्यो । यतिबेला बोइङमा संसारभर नै समस्या देखिइरहेको छ । बोइङ ७३७, म्याक्सलगायतका जहाजमा समस्या आएपछि बोइङको व्यापार यतिबेला खस्किएको छ । गत फागुनमा बोइङले विभिन्न देशमा सञ्चालित बोइङ ७७७ विमान ‘ग्राउन्डेड’ गर्ने निर्णय ग¥यो । त्यतिबेला दुई सय ३१ यात्रुु लिएर उडेको उक्त विमानमा समस्या आएपछि ओरिकको डेनभर विमानस्थल फर्किएको थियो । घटनामा भने कसैलाई पनि क्षति पुगेन । त्यसपछि सो वमान चलाई रहेका जापान र कोरियाका एयरलाइन्स र युनाइटेड एइरलाइन्सले उत्त जहाजको प्रयोग बन्द गरेका थिए । केही वर्षअघि अफ्रिकाको इथोपियन एइरलाइन्सको बोइङ ७३७ म्याक्स ८ जहाजमा उडेलगत्तै समस्या देखियो । जहाजले धावनमार्ग छोडेको ६ मिनेटमै जहाज सम्पर्कविहीन भएपछि अदिस अबाबाबाट ५० किमी पर गएर जमिनमा बजारियो । उत्तः दुर्घटनामा परी चालक दलसहित १५७ जनाले ज्यान गुमाए । टेक अफ लगत्तै यस्तै समस्या त्यसअघि पनि भएको हो । सोही मोडलको अर्को जहाज इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङकाल पिनाङ उडेको लायन एयरको जहाज दुर्घटना परेको थियो । उक्त जहाज भने धावनमार्ग छोडेको १२ मिनेटमै दुर्घटनामा पर्‍यो । अहिले यो मोडलको जहाजको उडानमा संसारभर रोक लगाइएको छ ।