NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनु भाे? आज अन्तिम दिन

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउनु भयाे ? छुटाउनु भएकाे छ भने आज मंगलबार नजिकै रहेका स्वास्थ्य केन्द्र वा ताेकिएकाे स्थानमा पुग्नुस् । सरकारले साेमबारबाट पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउन ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेकामा मंगलबार सकिँदैछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाइँदैछ। उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ। स्वास्थ्यकर्मीका अनुसार भिटामिन ‘ए’ ६ महिनादेखि एक वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्ष मुनिकालाई एक क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र दुई वर्षदेखि पाँच वर्ष मुनिकालाई एक ट्यावलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ । भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको छ। भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ। सरकारले २०५३ बाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ। यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ। २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ। बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ।