NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आफन्तले बाल संगठनमा बुझाएका बालक १५ वर्षदेखि बेपत्ता, ९०० भन्दा धेरै बालबालिकाको अवस्था अज्ञात

आफन्तले नेपाल बाल संगठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता छन् । खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् । ओखलढुंगाको तत्कालीन बर्नालु गाविस– ५ ९हाल सिद्धिचरण नगरपालिका– ५० स्थायी घर भएका पोकलप्रसाद दाहाल बाल संगठनबाटै बेपत्ता भएका हुन् । संगठनले उनलाई एक भारतीयको जिम्मा लगाइएको बताए पनि ती व्यक्तिसँग बालकका आफन्तको सम्पर्क गराउन सकेको छैन । संगठनका तत्कालीन कर्मचारीले ०६३ मा पोकलप्रसादलाई भारतको मुम्बई बस्ने धीरजकुमार कोछरको जिम्मा लगाएका थिए । प्रक्रिया नै पूरा नगरी बालक बुझाइएकाले अहिले आफन्तको सम्पर्क हुन नसकेको हो । ‘०६३ सालदेखि नै भान्जा खोज्न पटक–पटक बाल संगठनमा आएको छु, तर विभिन्न बहाना गरेर सम्पर्क नै गर्न दिइएको छैन,’ पोकलप्रसादका मामा उमाकान्त दाहालले भने, ‘हामीलाई जानकारी नै नदिई कसरी विदेशी नागरिकलाई हाम्रो मान्छे बुझाइयो ?’ पोकलप्रसादलाई १५ जेठ ०६० सालमा बाल संगठनमा भर्ना गरिएको थियो । बाल संगठन टुहुरा बालबालिकाको संरक्षण र शिक्षा दिने सरकारी निकाय हो । संगठनको १५ जेठ ०६३ को निर्णयअनुसार पोकलप्रसादलाई स्थानीय अभिभावकको रूपमा भारतीय नागरिक कोछरलाई १६ वर्षसम्मका लागि भनेर जिम्मा लगाइएको थियो । त्यतिवेला उनी पाँच वर्षका थिए । पोकलप्रसादजस्तै संगठनमा भर्ना भएर विदेश गएका नौ सयभन्दा धेरै बालबालिकाको अवस्था अज्ञात छ । सरकारले गठन गरेको छानबिन आयोगले धेरै बालबालिका बिक्री भएको हुन सक्ने औँल्याएको थियो । नयाँ पत्रिकामा खबर छ।