NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मृत्यु भएका व्यक्तिको जग्गा अर्कैको नाममा पास

भूमाफियाको समूहले झापामा नक्कली प्रमाण खडा गरेर मृत्यु भएका व्यक्तिलाई ज्युँदै रहेको भनी बिर्तामोडमा जग्गा हडपेको खुलेको हो । मृत्यु भइसकेका टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को एक कट्ठा १३ दशमलव ७५ धुर जग्गा भूमाफियाले हत्याएका हुन् । प्रहरीले गिरोहका सदस्यलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । यस काममा वडाध्यक्षदेखि कर्मचारीसम्म संलग्न रहेको प्रहरीले जनाएको छ । बिर्तामोड– १ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको एक कट्ठा जग्गा हडप्न निर्वाचित जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसमेत संलग्न रहेको अनुसन्धानमा खुलेको छ । गिरोहले आश्रममा बस्ने वृद्धलाई नक्कली टुंगबहादुर बनाएर करोडौँ मूल्यको जग्गा हत्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरोहले कन्काई नगरपालिकास्थित कोटिहोममा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बनाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । टुंगबहादुरको मृत्यु ०७३ मै भइसकेको थियो । गिरोहले टुंगबहादुरको नक्कली नागरिकताको प्रतिलिपि बनाएर गत २१ माघमा बिर्तामोड– ४ की ३३ वर्षीय रञ्जु राईको नाममा जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाबाट जग्गा पास गराएको थियो । गिरोहले बस्नेतको नक्कली नागरिकतामा देवीप्रसादको फोटो टाँसेको प्रहरीले जनाएको छ । नक्कली नागरिकता शिवसताक्षी– ८ का भूपदेव कटुवालले बनाएको पाइएको छ । उनी नेपाल विद्युत् प्राधिकरण इलाम फिक्कल शाखाका कर्मचारी हुन् । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।