NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

तेन्जिङ र हिलारी हुने सपना तुहिएको त्यो दिन

२०५० सालको वैशाखको सुरुवाती दिन । सगरमाथाको क्याम्प-२ । झिसमिसे बिहान वरिपरि आँखाले हेरेरै नभ्याइने सेताम्मै हिउँ मात्रै थियो । पासाङ ल्हामु शेर्पा हस्याङ-फस्याङ गर्दै लाक्पा फुटी शेर्पाको नजिकै आइन् । र आत्तिँदै भनिन्, ‘लाक्पा मैले त सपना राम्रो देखिनँ । श्रीमान् पनि मसँगै जान्छु भन्छ के गरौं ?’ सगरमाथामा नेपाली महिलाको पहिलो पटक पाइला पुर्‌याउन एक महिनाअघिदेखि आरोहणको प्रयासमा थियो, पासाङ ल्हामु शेर्पाको टोली ।सगरमाथा आरोहणको दोस्रो खुट्किला मानिने ‘क्याम्प २’ मा पुगेका थिए पासाङ ल्हामु र लाक्पा फुटीसहित नन्दा राई, सोनाम छिरिङ, पेम्बा नुरु, लाक्पा सोनामलगायत । यसअघि तीन पटकसम्म आरोहणको प्रयास भइसकेको थियो । टोली चौथो पटकको प्रयासमा थियो । तर पासाङ ल्हामुले सपना राम्रो देखेकी थिइनन् । यसले केही अनिष्ठको संकेत गरिरहेको उनलाई लागेको थियो । एकै श्वासमा आफूले देखेको सपनाको बेलिविस्तार लगाउँदै उनले लाक्पा फुटीलाई भनिन्, ‘म त धेरै टाढाको गुम्बामा नचिनेको लामासँगै पूजा गरिरहेको रहेछु ।’ त्यस्तो सपना देख्नुलाई उनले अशुभ मानेकी थिइन् । लाक्पा फुटीले सल्लाह दिइन्, ‘बच्चाहरू थिएनन् भने श्रीमान्-श्रीमती दुवैजना जाँदा हुन्थ्यो । यसपटक तपाईं एक्लै जानू ।’ अमेरिकी टोलीको वाकिटकीबाट पासाङ ल्हामुले बेसक्याम्प झरेकी लाक्पालाई भनिन्, ‘किलु तेम्बालाई सिमी भुटेर पठाउनू । यता मौसम बिग्रेको छ । तिमी पनि नआउनू । हामी पनि तल आउँछौं ।’ यो नै पासाङसँग उनको अन्तिम फोन संवाद थियो । पासाङ ल्हामुले सम्झाएपछि श्रीमान् लाक्पा सोनाम पछि हटे । उनले दुईवटा टोली बनाएर पालैपालो सगरमाथाको चुचुरोमा पुग्न लाक्पा फुटीसमक्ष प्रस्ताव राखिन् । आफू सुरुमा जाने प्रस्ताव राखेपछि सँगै जान मन गरेकी लाक्पाले झोंक्किएर पासाङ ल्हामुलाई भनेकी थिइन्, ‘मैले हिमाल बोकेर ल्याउँछु र !’ तर उमेरले पाकी पासाङ ल्हामुले ‘आफू पहिला पुगेर मौसमको स्थितिबारे जानकारी गराएपछि आउनू’ भन्ने सुझाव दिएपछि उनले नकार्न सकिनन् । मनको कुण्ठा भित्र-भित्रै गुम्स्याएर उनी राजी भइसकेकी थिइन् । त्यसपछि उनीहरुको बाटो भिन्दा-भिन्दै भयो । पासाङ ल्हामु गाइड सोनाम छिरिङ र पेमा नोरुसँग क्याम्प-३ तिर अघि बढिन् । टोलीमै रहेकी नन्दा अस्वस्थ भएपछि लाक्पा फुटी भने उनलाई पुर्‌याउन बेसक्याम्पतिर लागिन् । अमेरिकी टोलीको वाकिटकीबाट पासाङ ल्हामुले बेसक्याम्प झरेकी लाक्पालाई भनिन्, ‘किलु तेम्बालाई सिमी भुटेर पठाउनू । यता मौसम बिग्रेको छ । तिमी पनि नआउनू । हामी पनि तल आउँछौं ।’ यो नै पासाङसँग उनको अन्तिम फोन संवाद थियो । तर उनको कुरालाई नकार्दै भोलिपल्ट लाक्पा फुटी पनि क्याम्प-२ पुगिन् । त्यो बाटो अघिल्लो दिन नै हिँडेकाले उनलाई कता सतर्क हुने-नहुनेबारे राम्ररी थाहा भइसकेको थियो । बेसक्याम्पबाट उक्लिन थाल्दासम्म पासाङ ल्हामु पनि क्याम्प-२ मा थिइन् भन्ने थाहा पाएरै उनी त्यता लम्किएकी थिइन् । क्याम्प-२ पुगेपछि थाहा पाइन्, पासाङ ल्हामु त क्याम्प-३ तर्फ लागिसकेकी रहिछन् । ‘राति डरलाग्दो सपना देखें, कपमा रगत पिएको । ज्यानको ख्याल गर्नू, सगरमाथा त यहीँ रहन्छ, ज्यान त गइहाल्छ ।’ पासाङ ल्हामुसँगै गएका गाइड सोनाम छिरिङले पनि क्याम्प-२ मा हुँदा आफूले निकै नराम्रो सपना देखेको लाक्पालाई सुनाएका थिए । लाक्पा फुटीले झल्झली सम्झिन् उनले भनेका कुरा, ‘राति डरलाग्दो सपना देखें, कपमा रगत पिएको । ज्यानको ख्याल गर्नू । सगरमाथा त यहीँ रहन्छ, ज्यान त गइहाल्छ ।’ साेनामले भनेका कुरा सम्झिँदै उनी पनि क्याम्प-३ तिर लम्किन् । ‘सगरमाथा चढ्छु चढ्छु’ भन्ने अठोटका साथ उनी उकालो लागेकी थिइन् । राति हिउँ पगालेर खाना बनाएर क्याम्प-३ मा एक्लै सुतिन् ।भोलिपल्ट बिहान करिब चार बजेको थियो । पर कतैबाट चिन्ता र भय मिश्रित आवाजमा कसैले लाक्पा फुटी भनेर बोलाएको जस्तो लाग्यो । हतारहतार उठेर वरिपरि हेरिन् तर कोही थिएन । दुई-तीन पटक उनको नाम गुञ्जियो तर बोलाउने को हो देखिनन् । उनी निकै आत्तिइन् । टोलीका अरु साथीहरू आएपछि उनीहरूसँगै हिलारी स्टेपसम्म पुगेर उनी क्याम्प-२ फर्किइन् । पासाङ ल्हामुका श्रीमान् ल्हाक्पा सोनाम पनि त्यहीँ थिए । उनले सोधे, ‘केही खबर आयो ?’ खबर त केही आएको थिएन त्यतिबेलासम्म पनि । लाक्पा फुटीले फेरि नन्दालाई बेस क्याम्प पुर्‌याउन जाँदा देखेको सपना सम्झिइन् । उनको सपनामा पासाङ ल्हामु बुर्काजस्तो लुगा लगाएर दही चढाउँदै पूजा गरिरहेकी थिइन् । सगरमाथाजस्तै हिमालमा थिइन् उनी । यो सपना सुनेपछि पासाङ ल्हामुका श्रीमान् पनि आत्तिन थाले । खबर लिएर कोही आउलान् कि भनेर उनीहरूले पासाङसँगै गएका टोलीको बाटो हेरे । तर कोही आएनन् । त्यही रात मौसम एकदमै बिग्रियो । तल भएका माथि जान सकेनन्, न माथि भएकाहरू तल झर्न नै । सोही रात बिग्रिएको मौसमसँगै हिउँको भुमरीमा पासाङ ल्हामु अस्ताइन् । आफ्नो किर्तिमानीमा उनी आफैंले उत्साह मनाउनै पाइनन् । निकै बेरपछि पासाङ ल्हामुसँगै शिखरतिर गएका पेम्बा नुरु झुल्किए । बल्ल सन्तोष मिल्यो । उनले सोधिन्, ‘समिट गर्‌यौ ?’ पेम्बाले समिट गरिसकेको जानकारी दिए । अर्थात्, पासाङ ल्हामुले सगरमाथा चढिसकेकी थिइन् । सगरमाथाको चुचुरोमा पाइला राख्ने पहिलो नेपाली महिलामा आफ्नो नाम लेखाइसकेकी थिइन् । तर पेम्बाबाट अर्को खबर सुनेपछि त्यो सन्तोष र खुसी धेरै बेर टिक्न पाएन । पेम्बाले राति अक्सिजन सकिएकाले फर्किने क्रममा पासाङ हिँड्नै नसकेको र आफू अक्सिजन लिन आएको बताए । तुरुन्तै अक्सिजनको जोहो गरेर उनीहरुले क्याम्प-४ तिर अक्सिजन पठाए । त्यही रात मौसम एकदमै बिग्रियो । तल भएका माथि जान सकेनन्, न माथि भएकाहरू तल झर्न नै । सोही रात बिग्रिएको मौसमसँगै हिउँको भुमरीमा पासाङ ल्हामु अस्ताइन् । आफ्नो किर्तिमानीमा उनी आफैंले उत्साह मनाउनै पाइनन् । यता लाक्पा फुटी भने जसरी पनि सगरमाथा चढ्छु भनेर लागेकी थिइन् । शारीरिक रुपमा पनि उनी समिट गर्नका लागि सही अवस्थामा थिइन् । तर पासाङ ल्हामुको मृत्यु भएसँगै उनले सक्ने भएर पनि सगरमाथा चढ्न सकिनन् । उनी भन्छिन्, ‘मेरो साथीको मृत्यु भएको थियो । उसको लाशलाई नाघेर सगरमाथा चढ्न जान नैतिकताले दिएन ।’ पासाङले सगरमाथा चढिन् भन्ने खबरमा नै सन्तुष्टी मानेर आफू तल झरेको उनी बताउँछिन् । यता लुक्लामा भने उनीहरू दुवैले एकैसाथ समिट गरेको हल्ला चलिसकेको थियो । उनका आफन्तले खुसीयाली मनाउन थाले । पासाङ ल्हामु र लाक्पा फुटीलाई तेन्जिङ र हिलारीसँग दाँजेर चर्चा पनि भएछ । बिहान फेरि दुवैजनाको मृत्यु भएको भन्ने खबर यूरोपको सञ्चार हुँदै काठमाडौं पुगेछ । तर उनी बेसक्याम्प झरेपछि भने यो हल्ला आफैं हरायो । ‘मेरो साथीको मृत्यु भएको थियो । उसको लाशलाई नाघेर सगरमाथा चढ्न जान नैतिकताले दिएन ।’ लाक्पालाई त पासाङसँगै समिट गर्ने इच्छा थियो । तर उनलाई लाग्छ, भाग्यले अर्कै योजना बनाएको रहेछ । पासाङले दुईवटा टोली छुट्याएर आफू पहिला जाने बताएसँगै लाक्पाको त्यो सपनामा ब्रेक लागेको थियो । सँगै समिट गरेका हुन्थे भने दुवैजना तेन्जिङ र हिलारीको अर्को उपमा बन्थे सायद । वास्तविक सगरमाथा चढ्न नपाएपनि लाक्पाले जीवनको सगरमाथा आरोहणलाई भने पार लगाएको ठान्छिन् । त्यसपछि पर्यटनसँगै आबद्ध रहेर काम गरिरहेकी लाक्पालाई आज राज्यले जिम्मेवार पद सुम्पिएको छ । उनको काँधमा नेपाल माउन्टेन एकेडेमीको महासचिवको जिम्मेवारी छ ।नेपाललाई हिमाल र हिमालबारे अध्ययन तथा अनुसन्धानको थलो बनाउनका लागि उनी निरन्तर लाग्ने बताउँछिन् । आज उनै पासाङ ल्हामुको २८ औं स्मृति दिवस । हरेक वर्ष यो दिनले उनलाई विगतमा फर्काइदिन्छ र केही हुनु भन्दा नहुनु नै जाति भएको कुराको विश्वास खरो रुपमा दिलाइदिन्छ । त्यसयता उनी हिमाल आरोहणमा गइनन् । परिवारले पनि जान दिएनन् र उनी आफैंलाई पनि इच्छा हराउँदै गयो । भन्छिन्, ‘त्यसपछि सपनामा धेरै हिमाल चढें तर विपनामा चढ्न पाइनँ । अब त सगरमाथा चढ्ने सपना होइन, माउन्टेन युनिभर्सिटी बनाउने सपनालाई साकार बनाउन कुदिरहेकी छु ।’ पासाङ ल्हामुसँगै हिमाल चढ्न नपाएर त्यतिबेला रिसले चुर भएकी लाक्पालाई अहिले लाग्छ, ‘सायद त्यो दिन सफल आरोहण नहुन नै लेखिएको रहेछ । पासाङसँगै गएको भए म आज यो संसारमा नहुन पनि सक्थें । अहिले जुन उचाइ मिलेको छ, त्यो पनि कहाँ पाउँथे र !’