NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

धर्मनिरपेक्ष राज्यमा प्रधानमन्त्री ओलीको हिन्दुवादी ‘कार्ड’

काठमाडौं । प्रतिनिधिसभालाई ५ पुस २०७७ मा विघटनको सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले १२ माघमा पत्नी राधिका शाक्यसहित पशुपति मन्दिर पुगेर सवा लाख दीप प्रज्जवलन गरे । अनि मन्दिरमा जलहरी राख्न राज्य कोषबाट ३० करोड रुपैयाँ दिने घोषणा गरे ।२९ असार २०७७ मा भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिन्दु पौराणिक पात्र राम नेपाली राजकुमार भएको र उनको जन्मभूमि नेपालमै भएको दाबी गरे । रामको जन्म वीरगन्जभन्दा पश्चिमपट्टिको ठोरी नजिकमा भएको ओलीको दाबी थियो । लगत्तै ओलीले चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा अयोध्याधाम स्थापना गर्नसमेत निर्देशन दिए ।प्रधानमन्त्री ओलीले ७ वैशाखमा बालुवाटारमै धार्मिक अनुष्ठान गर्दै आफ्नो व्यक्तिगत खर्चमा बनाएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति अयोध्यापुरीमा स्थापना गर्न रथयात्राको उद्घाटन गरे । ओली ‘ईश्वरको अस्तित्व अस्विकार गर्ने र धर्मलाई अफिम मान्ने’ राजनीतिक स्कुलिङबाट हुर्केका व्यक्ति हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदा ओलीले चल्तीमा प्रयोग गरिँदै आएको ‘ईश्वर’ शब्द हटाएर ‘म देश र जनताका नाममा सपथ लिन्छु’ भनेका थिए । तर पछिल्लो समय ओलीमा अनौठो गरी धार्मिक मोह पलाएको छ । भलै यो राजनीतिक ‘स्टन्ट’ नै किन नहोस् । प्रधानमन्त्री भएको केही समयमै उनमा धार्मिक मोह बलियो बनेर गएको थियो । जसै पार्टीभित्रको आन्तरिक कलह बढ्दै गएपछि उनमा यो मोह अझ बलशाली भएको देखिन्छ । संविधानमा धर्मनिरपेक्ष, व्यवहारमा धर्मसापेक्षनेपालको संविधानको भाग १ को धारा ४ को नेपाल राज्य शीर्षकको उपधारा १ मा लेखिएको छ- ‘नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय गणतन्त्रात्मक राज्य हो ।’ संविधानले नै नेपाली नागरिकलाई आफूलाई इच्छा लागेको धर्म अपनाउन पाउने हक दिनुका साथै देशमा कुनै एक धर्मको हालिमुहाली नहुने व्यवस्था गरेको छ । तर देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै पटक-पटक आफूलाई एकपक्षीय रुपमा हिन्दुवादीका रुपमा प्रस्तुत गर्दै आएका छन् । व्यक्तिगत रुपमा उनी जुनसुकै धर्म मान्न अन्य नागरिकसरह अधिकारप्राप्त छन् तर राज्यको प्रमुख भएर कुनै अमुक धर्मको मात्र पक्षपाति हुन उनलाई कदापि मिल्दैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा पशुपतिनाथको शिव लिङ्गमा सुनको जलहरी राख्ने प्रस्ताव विवादका कारण रोकिएको थियो । तर इतिहास दोहोर्‌याउँदै प्रधानमन्त्री ओलीले घोषणा गरिदिए- पशुपतिमा ३० करोड रुपैयाँ बराबरको जलहरी राखिनेछ । प्रधानमन्त्रीले पशुपतिमा जलहरी राख्न प्रतिबद्धता गरिरहँदा सरकारले भने कोरोना खोप खरिदका लागि सर्वसाधारणसँग सहयोग मागिरहेको थियो । अनि खोप खरिदका लागि विश्व बैंकसँग ऋण सम्झौता पनि गर्दै थियो । कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको बेला प्रधानमन्त्रीले अन्य थुप्रै आवश्यकतालाई बेवास्ता गर्दै पशुपतिमा सुनको जलहरी राख्न करोडौं रकम सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । देशमा बहुदल आएपछि कुनै पनि कार्यकारी पूजा गर्नकै लागि पशुपति गएका थिएनन् । तर प्रधानमन्त्री ओलीले त्यसमा पनि आफूलाई अघिल्लो कित्तामा उभ्याएका छन् । ओलीको राम रुझानप्रधानमन्त्री ओलीले गत वर्ष भानु जयन्तीको अवसरमा वीरगन्जनजिकको ठोरीलाई असली अयोध्या भएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘हामीले भारतका होइन, अयोध्याका रामलाई सीता दिएका हौं । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’ रामायणलाई नेपालीमा अनुवाद गरेका कवि भानुभक्त आचार्यको जन्मदिनमा ओलीले भारतमा भएको अयोध्या नक्कली भएको बताएका दिए । ओलीको भनाइ थियो, ‘अहिले भारतमा खडा गरिएको अयोध्या होइन । यहाँको जनकपुर, त्यहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ ? कल्ले के गर्‌या छ ? त्यत्ति बेलाको जमानामा न टेलिफोन, न मोबाइल, कहाँबाट थाहा होस् ?’ प्रधानमन्त्री ओलीले ठोरीमा रामको जन्म भएको जिकिर गरेपछि त्यसले नेपालीदेखि भारतीय सञ्चारमाध्यममा राम्रै स्थान पायो । भारतीय सञ्चारमाध्यममा त ओलीको चर्को आलोचनासमेत भयो । यद्यपि ओली आफ्नो भनाइमा अडिग रहिरहे । तर परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको भन्दै विज्ञप्ति नै निकाल्नुपर्‌यो । उक्त विज्ञप्तिमा ओलीको भनाइ राजनीतिक नभएको र भारतको बिहारमा रहेको अयोध्या नै रामको वास्तविक जन्मभूमि भएको उल्लेख गर्दै प्रधानमन्त्रीको बचाउ गरिएको थियो । प्रधानमन्त्री ओली यत्तिकैमा रोकिएनन् । उनले भने चितवनको माडी क्षेत्रमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति नै स्थापना गरिने घोषणा गरे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माडी नगरपालिकाका जनप्रतिनिधिलाई बोलाएर ओलीले त्यस क्षेत्रमा भव्य धार्मिक मेला गर्न निर्देशनसमेत दिएका थिए । ओलीले अयोध्या र रामको जन्मभूमिबारे यति धेरै चासो देखाइरहँदा त्यस नजिकै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले घर आगो लगाइदिएका दिनहीन चेपाङलाई भने सम्झन आवश्यक ठानेनन् । जबकी माडी क्षेत्रमा १९२ घरधुरी चेपाङ त्रिपालमुनि बस्न बाध्य थिए । ओलीले माडीका जनताको समृद्धिका लागि राम मन्दिरको कुरा उठाएको तर्क गरेका भए पनि उनको कार्यशैलीले हिन्दूवादी राम रुझान प्रष्ट पारेको थियो । ओलीले ठोकुवा गरेको अयोध्या क्षेत्रमा राख्न बनाइएका राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति रामनवमीभन्दा अघिल्लो दिन ७ वैशाखमा बालुवाटारबाट चितवनको माडीका लागि पठाइएको थियो । धर्म निरपेक्ष देशका प्रधानमन्त्रीले आफ्नो लोकप्रियताका लागि हिन्दुवादी स्टन्ट गर्दै काठमाडौंबाट गाडीका लावालस्करसहित मूर्ति माडी पठाएका थिए । जबकी त्यसको अघिल्लो दिन मात्रै ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै भीडभाड हुने गरी सभा, समारोह तथा धार्मिक कार्य नगर्न भनेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय स्वयम् प्रधानमन्त्री ओलीबाटै उल्लंघन भयो । धर्मको आडमा भोटको राजनीतिधर्म निरपेक्ष राज्यको कम्युनिष्ट कार्यकारीले गर्न हुने वा नहुने केही नसोची भोटकै निम्ति प्रधानमन्त्री ओलीले अहिलेका कदम चालिरहेका बताउँछिन् लेखक एवं अध्यापक सरीता तिवारी । भन्छिन्, ‘अहिले उहाँहरुले भोटको राजनीतिबाहेक केही सोच्नु भएको छैन । नैतिक रुपमा यो काम गर्न हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नु भएको छ भन्ने लाग्दैन ।’ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिहेका पेशल निरौला, जो कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए, राज्यको कार्यकारी प्रमुखले चालिरहेको कदम धर्मप्रतिको प्रेम नभएर भोट पाउने राजनीति भएको ठोकुवा गर्छन् । ‘प्रधानमन्त्री ओलीले हिन्दु धर्मको मायाले होइन, आउने निर्वाचनमा भोट पाउन यसो गरिरहेका छन्,’ उनले भने, ‘भारतमा राहुल गान्धीले जनै लगाएर हिन्दुको भोट पाउन गरेको स्टन्ट जस्तै नेपालमा पनि हिन्दूको भोट पाउन ओलीले यी सब कर्म गरिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले पछिल्लो पटक चालेको कदमलाई निरौला हिन्दुलाई बेवकुफ बनाउने नियतको संज्ञा दिन्छन् । ‘हिन्दुलाई बेवकुफ बनाउन यो सब भइरहेको छ । राम जन्मभूमिको विवाद हिन्दु धर्म र रामप्रतिको प्रेमले जन्मिएको होइन,’ निरौला भन्छन्, ‘ओलीले भोटका लागि धार्मिक बाटा अपनाएका हुन् । यसले भोलि द्वन्द्व ननिम्त्याउला भन्न सकिँदैन ।’ प्रचण्डसँग बदला लिन ओलीको धार्मिक कार्डचितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला पनि हो । प्रचण्डले २०७४ को संघीय निर्वाचन चितवनबाटै जितेका हुन् । गत १२ माघमा पशुपति पुगेको ५ दिनपछि चितवन पुगेर ओली प्रचण्डमाथि खनिएका थिए । प्रचण्डकै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा ओलीको गर्जन थियो, ‘यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा गर्न किन सक्नुहुन्न ? कसका डरले नसकेको हो ? बडो सक्कली राष्ट्रवादी भएर हिँड्नुहुन्छ ।’ ओलीको बोलीले प्रचण्डलाई नक्कली राष्ट्रवादीको संज्ञा दिएको थियो । उनले प्रचण्डलाई व्यंग्य गर्दै भनेका थिए, ‘मयूरको प्वाँख लाउँदैमा अर्को चरो मयूर हुँदैन ।’ लेखक तिवारी माडी केन्द्रित भएर प्रधानमन्त्री ओलीले धार्मिक कार्ड प्रयोग गर्नुलाई दुई नेताबीचको शत्रुतापूर्ण सम्बन्धबाट जन्मिएको परिस्थितिका रुपमा अर्थ्याउँछिन् । भन्छिन्, ‘ओली र प्रचण्डको शत्रुतापूर्ण सम्बन्ध छ, एकअर्कालाई विश्वास नगर्ने बानी छ । ओलीले माडीमा राम मन्दिर बनाउनुमा धार्मिक राजनीति गरेर आफूलाई बचाउने र प्रचण्डलाई उनकै चुनाव क्षेत्रबाट हटाउने रणनीति हो ।’ कम्युनिष्टका रुपमा आफ्नो भविष्य नदेखेकाले ओलीसँगै सत्तामा रहेकाहरु धार्मिक राजनीतितर्फ अघि बढेको बताउँछिन् तिवारी । भारतमा हिन्दुपन्थ राजनीतिले उब्जाएको द्वन्द्वको उदाहरण दिँदै उनले थपिन्, ‘ओली–प्रचण्डबीचको शत्रुताको सम्बन्धको बदला देखाइदिने हिसाबले अहिले ओलीले धार्मिक कदम चालिरहेका छन् ।’