NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अस्पतालमा शय्या भरिएपछि बाँकेमा गम्भीर बिरामीलाई समेत घर फर्काउन थालियो

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएका हुन् । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि तयार गरेको कोभिड वार्डका सबै १४२ शय्या भरिएका हुन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आगामी दिन थप भयावह हुने सम्भावना बढेको उनले बताए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले सङ्क्रमण रोकथाम र गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह पनि गरे । कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाईले अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताए । उनले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आईसीयू शय्या पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रणबाहिर गएको दाबी गरे । कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति भयावह बन्दा चिन्तित छन् । भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए प्रायः सबैमा सङ्क्रमण देखिएको पाइएको सुनाए । बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए । (रासस)