NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारतमा कोरोना संक्रमण उच्च विन्दुमा, सङ्क्रमित र मृतकको संख्यामा शुक्रबार नयाँ रेकर्ड

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार पछिल्लोपटक दिनहुँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ-नयाँ रेकर्ड बनेका छन् । शुक्रबार बिहान सार्वजनिक पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक कोरोनाको चपेटामा परेका छन् । यो संख्या भारतमा अहिलेसम्म एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । त्यसैगरी, कोरोनाकै कारण २ हजार २६३ जनाको मृत्यु भएको छ । यो संख्या पनि एक दिनमा मृत्यु हुनेमा हालसम्मकै उच्च हो । भारतमा अहिलेसम्म १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित र एक लाख ८६ हजारभन्दा बढीको निधन भइसकेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । हालसम्म यहाँ १३ करोड ५४ लाख ७८ हजारभन्दा बढीले खोप लगाएका छन् । भारतमा कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक-भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको छ । रुसले विकास गरेको स्पुतनिक-भी गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको हो । भारतमा बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ । राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा छ । दिल्लीमा महामारी सुरु भएयता कोरोना सङ्क्रमणबाट १२ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । (रासस/सिन्ह्वा)