NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ओरल क्यान्सर : यी हुन् जाँन्नैपर्ने कुरा र उपचार

मानव शरिरमा लाखौं कोषिकाहरु हुन्छन्, जसले यसलाई सक्रिय रहन सघाइरहेको हुन्छ । उदाहरणका लागि फोक्सोलाई क्रियाशील राख्न एक किसिमका कोषिका हुन्छन् भने मुटुलाई सक्रिय राख्न अर्का किसिमका कोषिका हुन्छन् । शरिरको एउटै अंग पनि हजारौं कोशिकाहरुले बनेको हुन्छ । यी कोषिकाहरु अनियन्त्रित भएर विभाजित भयो भने त्यसले क्यान्सर रोग पैदा गर्ने हो । कुनै पनि कोषिकाको अनावश्यक अनियन्त्रित विकास भएमा त्यसले क्यान्सर निम्त्याउने हो । सामान्यतयः क्यान्सर दुई किसिमको हुन्छ । पहिलो बेनाइन क्यान्सर, जुन सौम्य हुन्छ, सर्दैन । हाम्रो शरिरमा कुनै मुसा आयो, फोका आयो भने त्यसलाई यो श्रेणीमा हेरिन्छ । अर्को किसिमको क्यान्सर भनेको मेलिग्नेन्ट क्यान्सर हो, जुन एउटा ठाउँबाट अर्को ठाउँमा सर्छ । हामीले अहिले क्यान्सरको रुपमा बुझ्ने भनेको पनि मेलिग्नेन्ट ट्युमर (क्यान्सर)कै कुरा हो । अप्रिल महिनालाई ‘ओरल क्यान्सर अवेरनेस मन्थ’ अर्थात मुखको क्यान्सरमा जनचेतना जगाउने महिनाको रुपमा मनाईन्छ । यो लेख मुखको क्यान्सर, त्यसका कारण, त्यसबारे भ्रम र यथार्थसँगै यसको निदानमा केन्द्रित भएर तयार गरिएको छ । मुखमा हुने क्यान्सर (ओरल क्यान्सर) सामान्यतयः तीन कारणले हुन्छन् । पहिलो कारण धुम्रपान, खैनी सेवन, मद्यपान, प्रदुषण लगायतका हाम्रा जीवनशैली हुन् । दोस्रो कारण जेनेटिक (वंशाणुगत) हो । ओरल क्यान्सर हुने तेस्रो कारण यौन पनि हो । प्रायः पश्चिमा मुलुकहरुमा ओरल सेक्सको अवधारणा छ र मानिसले पनि यसलाई अनुसरण गरेका छन् । यसबाट पनि मुखमा हुने क्यान्सर निम्ति रहेको हुन्छ । ओरल सेक्सका क्रममा शरिरमा प्रवेश गर्ने ह्युमन प्यापिलोमा भाइरसका कारण पनि क्यान्सर हुन्छ । तर, नेपालको सन्दर्भमा तेस्रो कारणभन्दा पहिलो र दोस्रो कारण लागू हुन्छन् । जसमा बढिभन्दा बढि पहिलो कारण अर्थात् धुम्रपान, मद्यपान, खैनी सेवन, प्रदुषण लगायतका जीवनशैलीका कारणहरु हुन्छन् । नेपालका अस्पतालमा आउने क्यान्सरका बिरामीहरुमध्ये दैनिक दुई जना ओरल क्यान्सरका हुन्छन् । जसले नेपालमा ओरल क्यान्सरका बिरामीहरु बढिरहेका छन् भन्ने देखाउँछ । सुर्तीजन्य पदार्थ खाएपछि आज नै यसको असर देखिने होइन । क्यान्सरको रुपमा विकसित हुन समय लाग्छ । कम्तिमा १० देखि १५ वर्ष लाग्छ । राज्य वा कुनै संघसंस्थाको तर्फबाट नेपालमा ओरल क्यान्सरको अवस्था कस्तो छ भन्ने बारेमा यकिन तथ्यांक वा विश्लेषण भएको छैन । हाम्रो देशमा क्यान्सर रजिस्टर प्रणालीको सुरुवात भएको भर्खर तीन वर्ष भयो । २०१८ बाट यो प्रणाली सुरु गरिएको थियो । सबै ठाउँबाट आउनुपर्ने रिपोर्टहरु अझै आइपुगेका छैनन् । त्यसमाथि यो प्रणालीले पूरै नेपाललाई समेटेको छैन । जसकारण यकिन रुपमा ओरल क्यान्सरको अवस्था यस्तो छ भन्न सकिदैंन । झन्, गाउँघरमा यो समस्या बढि देखिन्छ । तर, गाउँघरका तथ्यांक र अवस्थालाई हालसम्म समेटिएको छैन । युवापुस्तामा बढ्दाे ओरल क्यान्सर ओरल क्यान्सर हुने मुख्य कारण हाम्रो जीवनशैली नै हो । त्यसमा पनि बढि मात्रामा हामीले खाने कुरा, हाम्रो वातावरणले असर गरिरहेको हुन्छ । बढि मात्रामा गाउँघरमा यो समस्या हुनुको कारण सो क्षेत्रमा अशिक्षित वर्गहरु छन् । जहाँ विज्ञापनहरुमा धुम्रपान गर्दा, खैनी, गुटखा खाँदा ठूलो साहस गरिएको जस्तो देखाइने विज्ञापनहरुले प्रभाव पारिरहेको हुन्छ । विकट क्षेत्रका मान्छे विज्ञापनले आम मानिसलाई कसरी आफ्ना उत्पादनतर्फ तानिरहेका छन् भन्ने बुझ्दैनन् । जसकारण बालखै उमेरदेखि नै धेरैले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन् । सुर्तीजन्य पदार्थ खाएपछि आज नै यसको असर देखिने होइन । क्यान्सरको रुपमा विकसित हुन समय लाग्छ । कम्तिमा १० देखि १५ वर्ष लाग्छ । ४० भन्दा माथि उमेर भएकाहरुले यसलाई खान सुरुवात गरे भने यसको लत छुटाउन सकिन्छ । तर, सानै उमेरमा यसको प्रयोग गरेमा यसको लत पनि अत्यधिक हुन्छ, र यसलाई छाड्न पनि कठिन हुन्छ । यसले निकट भविष्यमा नै उनीहरुलाई ओरल क्यान्सरसम्म पुर्याउँछ । सानै उमेरमा सुर्तीजन्य पदार्थको सेवनले ३०३५ उमेर पुग्दा व्यक्तिमा क्यान्सरको विकास गराइदिन्छ । अहिले अस्पतालमा पनि युवावस्तामा नै बढि मात्रामा ओरल क्यान्सरका बिरामीहरु आइरहेका छन् । सामान्यतयः ३०३५ उमेरमै ओरल क्यान्सरका बिरामीहरु भर्ना भइरहेका छन् । नेपालको सन्दर्भमा ३० देखि ५० उमेरभित्रमा ओरल क्यान्सर देखिरहेको छ । क्यान्सर हुनलाई कम्तिमा १० देखि १५ वर्षदेखि निरन्तर सुर्ती सेवन गरिरहेको हुनुपर्छ । अहिले औसतलाई आधार मान्दा कम्तीमा १५ देखि २० वर्षको उमेरमै सुर्तीजन्य पदार्थको सेवन र यसको लतमा फसेका कारण नेपालमा ३० देखि ५० वर्षभित्रका मानिसमा क्यान्सर देखिइरहेको छ ।युवावस्थामा यो रोग लाग्दा एक त व्यक्तिलाई घाटा भइनै हाल्यो । त्योसँग देशलाई पनि उत्पादनशील उमेरका व्यक्तिहरु नै रोगले ग्रसित हुँदा घाटा भइरहेको हुन्छ । यो उमेर काम गर्ने, उत्पादनशील उमेर हो । तर, यहि उमेरमा क्यान्सरबाट ग्रसित हुनुले थप नोक्सान गराइरहेको छ ।युवा उमेरमा क्यान्सर हुनुले दुःख पनि धेरै, खर्च पनि धेरै हुन्छ । जसकारण युवा अवस्थामा क्यान्सर हुनु थप कठिनाईको सामना गर्नु हो । विदेश जानै पर्ने भएपनि नेपालका चिकित्सकसँग सल्लाह गरेर जान सकिन्छ । तर, नेपालमै उपचार हुने रोगको लागि पनि विदेशमा उपचार गराउँदा थप खर्च गराइरहेको हुन्छ । नेपालमा यकिन तथ्यांक नभए पनि ओरल क्यान्सर छैठौं सातौं नम्बरमा पर्छ । नेपालमा पुरुषहरुमा सबैभन्दा बढि हुने फोक्सोको क्यान्सर हो । त्यसपछि पेट, ठूलो आन्द्राको क्यान्सर आउँछ । महिलाहरुमा सबैभन्दा बढि हुने पाठेघरको क्यान्सर हो । दोस्रोमा स्तन क्यान्सर पर्छ ।क्यान्सरमध्ये नेपालमा छैठौं नम्बरमा ओरल क्यान्सर हुनुले पनि यो कस्तो स्थितिमा छ भन्ने देखाउँछ । बढ्दो मात्रामा सूर्तीजन्य सामग्रीको प्रयोग भएकाले पनि यो थप विकराल बन्दै गएको देखिन्छ । नेपालमा उपचार पद्धति नेपालमा अहिले ९० प्रतिशत क्यान्सरको उपचार हुन्छ । ओरल क्यान्सरमा पनि सबै किसिमको उपचार नेपालमा छ । रोबोटिक्स प्रविधिको विकास नेपालमा नभईसकेकाले त्यो किसिमको उपचार नभएपनि अन्य सबै किसिमका उपचार नेपालमा हुन्छन् । तर, नजिकको तीर्थ हेला भनेजस्तै नेपालमा क्यान्सरको उपचार गराउने मानिसहरु कम छन् । एकातिर क्यान्सरलाई लिएर आम जनमानसमा भ्रम छ, यो लागेपछि निको हुँदैन भन्ने छ । त्यस्तो होइन बरु, समयमा नै यसलाई पहिचान गर्न सकियो भने यसको निदान पनि हुन्छ । तर, यति हुँदा हुँदै पनि सम्भ्रान्त परिवार उपचारको लागि बेलायत जान्छन् । मध्यम परिवार सिंगापुरजस्ता देश जान्छन् । सामान्य परिवार पनि नेपालबाट खुल्ला सिमाना भएकाले भारत गएर यसको उपचार गराउन खोज्छन् । विदेश जानै पर्ने भएपनि नेपालका चिकित्सकसँग सल्लाह गरेर जान सकिन्छ । तर, नेपालमै उपचार हुने रोगको लागि पनि विदेशमा उपचार गराउँदा थप खर्च गराइरहेको हुन्छ । नेपालमा भएमा केही परेमा चिकित्सकलाई सजिलै फोन गरेर सोध्न सकिन्छ । तर, विदेश गएपछि त्यस्तो हुँदैन । सँगै यात्राको खर्च, बसाईको खर्चले समग्रमा उपचारकै खर्च बढाउँछ । अहिले विश्वभरकै पढाई एउटै भएकाले नेपालमा भएका चिकित्सक र बेलायतमा भएका चिकित्सकले गर्ने उपचार, अपनाउने पद्धति सबै पारदर्शी हुन्छन् । त्यसले पनि, राम्रो उपचार नेपालमै पाईन्छ, नेपालमै गर्न सकिन्छ । सामान्य भाषामा भन्दा अल्सरको रुपमा यो देखिन्छ । कहिलेकाँही दुख्न पनि सक्छ, कहिले दुख्दैन पनि । सामान्य एन्टिबायोटिक खाँदा निको नहुने किसिमको घाउ वा समस्या भएमा त्यसलाई क्यान्सरको लक्षणको रुपमा लिइन्छ । सँगै क्यान्सर ठाउँ ठाउँमा सर्ने हुँदा एक ठाउँबाट अर्को ठाउँमा फैलिएको पनि हुनसक्छ । लामो समयसम्म कुनै समस्या देखिइरहयो र यसलाई सामान्य उपचार गर्दा, एन्टिबायोटिक खाँदा पनि निको भएन भने त्यसलाई क्यान्सरको लक्षणको रुपमा लिएर परीक्षण गराउनुपर्छ । बायोप्सी गर्दा मासुमा क्यान्सर देखियो भने बिरामीलाई क्यान्सर रोगको उपचारको लागि पठाइन्छ । ओरल क्यान्सरको उपचारका लागि तीन किसिमका उपायहरु छन् । सुरुवाती चरणमा क्यान्सर छ भने त्यसलाई सामान्य शल्यक्रियाबाट यसलाई निको पार्न सकिन्छ । यसको खर्च पनि धेरै हुँदैन । शल्यक्रियासँगै कतिपय अवस्थामा सिसिआरसी (कम्बाइन्ड केमियो एण्ड रेडियो थेरापी) पनि गरिन्छ । शल्यक्रिया मात्रै गरियो भने ५१० हजारमै उपचार हुन्छ । सँगै रेडियोथेरापी गर्नुपर्यो भने केही खर्च बढ्छ । औसतमा १ लाखसम्ममा उपचार हुन्छ । क्यान्सर लागिहालेमा मरिन्छ भन्ने भ्रमलाई चिर्न आवश्यक छ । क्यान्सर लाग्दैमा मर्ने होइन । आम मान्छेमा भएको यो भ्रमलाई चिर्न आवश्यक छ । यो भ्रमलाई चिर्न सकियो भने मात्रै पनि आम मान्छेले यसको उपचारतर्फ ध्यान दिन्छन् । यदि मुखको क्यान्सर मुखबाट सरेर फोक्सोसम्म पुगेको छ, पेटसम्म पुगेको छ वा शरिरको अन्य कुनै अंगमा पुगेको छ भने चिकित्सकहरुले सल्लाह गरेर उपयुक्त उपचार पद्धति अपनाउँछौं । यो स्टेजमा क्यान्सर चौथौं तहमा पुगिसकेको हुन्छ । तेस्रो चौथौं तहमा क्यान्सर पुगेको छ भने यसलाई जीवनभर नै उपचार गराइरहनुपर्छ । रेडियोथेरापी, केमियोथेरापी गरिरहनुपर्छ । त्यसैले पनि यसको उपचार १० हजारदेखि जीवनभरलाई अनिश्चित खर्चसम्म हुन्छ । समयमै यसलाई पहिचान गर्न सकियो भने यसको उपचार पनि सजिलै हुने र यसलाई कम खर्चमै निदान गर्न सकिन्छ । सावधानी महत्वपूर्ण ओरल क्यान्सर हुने मुख्य कारण हाम्रो जीवनशैली भएकाले यसलाई रोक्न सकिन्छ । खानेकुरादेखि आफ्नो जीवनशैलीमा ध्यान मात्रै पुर्याउने हो भने पनि यो रोग लाग्नबाट बच्न सकिन्छ । सानै उमेरबाट सुर्तीजन्य पदार्थको प्रयोगले अहिले ओरल क्यान्सरका बिरामीहरु बढिरहेका छन् । यसलाई नियन्त्रण गर्नुपर्छ । सरकारदेखि मिडिया, पाठकसम्म सबैमा सुर्तीजन्य पदार्थका कारण ओरल क्यान्सर भईरहेको छ भन्ने जनचेतनाको विकास गर्नुपर्छ । समय समयमा राज्यले पनि ठाउँ–ठाउँमा पुगेर आम मानिसलाई यसको असर र यसका कारण निम्तिन सक्ने अवस्था बुझाएर आम मानिसलाई सचेत गराउन आवश्यक छ । त्योसँगै क्यान्सर लागिहालेमा मरिन्छ भन्ने भ्रमलाई चिर्न आवश्यक छ । क्यान्सर लाग्दैमा मर्ने होइन । आम मान्छेमा भएको यो भ्रमलाई चिर्न आवश्यक छ । यो भ्रमलाई चिर्न सकियो भने मात्रै पनि आम मान्छेले यसको उपचारतर्फ ध्यान दिन्छन् । पहिलो स्टेजमै उपचार गर्न सकियो भने खर्च पनि कम हुन्छ, उपचार पनि सजिलो र दुःख पनि कम हुन्छ । अन्य स्टेजमा पनि यसको उपचार गर्न सकिन्छ । केही महंगो भएपनि यो रोगलाई निको बनाउन सकिन्छ । त्यसैले पनि आम मानिसमा क्यान्सरबारेको भ्रम र यसको उपचारमा आउनुपर्छ भन्ने कुराको जनचेतना फैलाउन आवश्यक छ । –डा. अरुण शाही (वरिष्ठ चिकित्सक, पाटन अस्पताल (क्यान्सर विभाग) )