NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विष्णु रिजाल र सुर्य थापा हर्षित मुद्रामा !

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य थापाले शुक्रबार राति विष्णु रिजालसँगको तस्बिर सार्वजनिक गरेका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको उक्त तस्बिरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन् । जसको क्याप्सनमा थापाले ‘हामी’ लेखेका छन् । ५ पुस ०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि रिजाल तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेता माधवकुमार नेपालपक्षमा थिए । यसैबीच शुक्रबार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले रिजाललाई पार्टीको विदेश विभागको उपप्रमुख र दैलेख जिल्लाको सहइन्चार्जसमेतको जिम्मेवारी दिएको छ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बसेको थियो । बैठककै समयमा प्रधानमन्त्री निवास परिसरमा सो फाटो लिइएको हुनसक्छ । तत्कालीन नेकपाकालमा पनि रिजाल पार्टीको विदेश विभागको उपप्रमुख पदमै थिए । एमाले विधानविपरीत क्रियाकलापमा संलग्न भएको भन्दै २८ फागुन ०७७ को एमालेको केन्द्रीय कमिटी बैठकले रिजाललाई पदमुक्त गरेको थियो । यस्तै शुक्रबारको बैठकले थापालाई एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी दिएको छ । थापा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत हुन् । यसअघि रिजाल र थापा आफू निकट नेतृत्वको बचाउ र एक–अर्कापक्षीय नेताबीच सामाजिक सञ्जालमार्फत आलोचना र टिप्पणी गर्दै आएका थिए । केन्द्रीय नेताको यस्तो तस्बिर सार्वजनिक भए पनि शीर्ष नेताहरु ओली र नेपालबीच विवाद र तिक्तता साम्य भएको छैन । बुधबार र बिहीबार ओली र नेपालबीच पार्टीको विवाद समाधानका लागि वार्ता भए पनि सकारात्मक निष्कर्ष निस्किन नसकेको एमाले नेताहरुको भनाइ छ ।