NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

त्रिदेशीय टी-२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्दै

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेटको फाइनलमा आज नेपाल र नेदरल्यान्डस् भिड्दै छन् । खेल दिउँसो सवा १ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल प्रतियोगितामा यसअघि खेलेका ४ खेलमध्ये ३ मा जीत हात पार्दै फाइनलमा पुगेको हो भने नेदरल्यान्डस्‌ले २ जीत, एक बराबरी र एक हार व्यहोरेको थियो । पहिलो खेलमा नेपालले नेदरल्यान्डस्‌लाई ९ विकेटले पराजित गरेको थियो । तर अर्को खेलमा नेदरल्यान्डस्‌ले उही मैदानमा नेपालले दिएको २०७ रनको लक्ष्यसमेत भेट्याएको थियो । घरेलु मैदान, ब्याटिङमा देखिएको सुधारलगायतले बलियो मानिए पनि पछिल्लो खेलमा नेदरल्यान्डस्‌ले जीत हात पारेकोले नेपाल चनाखो हुनुपर्ने देखिन्छ । प्रतियोगितामा प्रारम्भिक ब्याट्सम्यानले सटिक सुरुवात गर्दा नेपालले बलियो लक्ष्य पेश गर्दै र पछ्याउन सफल हुँदै आएको छ । आजको खेलमा पनि प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भूर्तेल र आसिफ सेखमा उक्त जिम्मेवारी रहनेछ । पछिल्ला खेलमा बनेको स्कोर हेर्दा कीर्तिपुरको पिच ब्याटिङका लागि सहयोगी देखिएको छ । त्यसकारण पनि मध्येक्रम र तल्लोक्रमका ब्याट्सम्यानले सम्हालिँदै खराब बललाई बाउन्ड्री पार गराउने रणनीतिमा खेले नेपालले ठूलो स्कोर बनाउने वा लक्ष्य पछ्याउन सहज हुनेछ । नेपालले नेदरल्यान्डस्‌सँगको यसअघिको खेलमा बलिङमा प्रभाव पार्न सकेको थिएन । प्रतियोगितामा हालसम्म सर्वाधिक ११ विकेट लिइसकेका लेग स्पिनर सन्दीप लामिछानेसमेत उक्त खेलमा महँगो सावित भएका थिए । त्यसपछि मलेसियासँग बलिङमा सुधार देखिएकोले नेपालले उही लयमा खेल्नुपर्ने हुन्छ । नेपाल टी-२० क्रिकेटमा पहिलो उपाधिको संघारमा रहेकोले पनि यसअघि देखिएको फिल्डिङको कमजोरीलाई सुधार्नुपर्ने हुन्छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै दर्शक प्रवेशमा रोक लगाइएकोले नेपाली टोलीलाई १२ औं खेलाडीको अभाव खड्किनेछ । प्रतियोगितामा नेपाली टोलीको खेल रणनीति र मैदानबारे बुझेको नेदरल्यान्डस्‌का लागि फाइनल खेलमा रणनीति बनाउन थप सहज हुनेछ । उसका लागि बेन कोपर, म्यास ओ-डाउड, पिटर सिलर र बस डि लिडकै मुख्य भर रहनेछ । अर्को टोली मलेसिया भने कुनै पनि खेल नजिती प्रतियोगिताबाट बाहिरिइसकेको छ ।