NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भारतको उत्तराखण्डमा फेरि हिमनदी विस्फोट, ८ जनाको शेव फेला

काठमाडौं । भारतको उत्तराखन्डस्थित चमोली जिल्लाको सुमनामा भएको हिमनदी विस्फोटमा ८ जनाको मृत्यु भएको छ । भारतीय सेनाले हिमनदी विस्फोटका कारण हालसम्म ८ जनाको शव फेला परेको पुष्टि गरेको हो । ‘हिमनदी फुटेर शुक्रबार अपराह्न ४ बजेतिर उत्तराखण्डको सुमना-रिमखिम खण्डको सुमनामा क्षति सुरु भएको थियो,’ भारतीय सेनाले भनेको छ । सेनाले घटनालगत्तै उद्धार थालेको थियो । चीनको सीमानजिक सडक निर्माणमा खटिएका बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) का ३८४ कामदारलाई सैनिक क्याम्पमा सारिएको छ । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । घटनास्थलबाट सेनाको क्याम्प झन्डै ३ किमिको दूरीमा पर्छ । पछिल्लो ५ दिनयता यो क्षेत्रमा भारी वर्षा र हिमपात भइरहेको थियो । त्यसकारण हिमनदी विस्फोट भएर मलारी–सुमना सडक खण्डमा झरेको थियो । उक्त सडक खण्डमा निर्माणको काम भइरहेकाले कामदारलाई हिउँले पुरेको सेनाले जनाएको छ । सैनिक क्याम्पदेखि घटनास्थलसम्म हिमनदीले ४/५ ठाउँमा सडक बगाएको छ । जोशीमठस्थित बोर्ड रोड टास्क फोर्सको टोली भत्केको सडक निर्माणमा जुटेको छ । शुक्रबार बेलुकासम्म भापकुन्डदेखि सुमनासम्मको सडक खुला भइसकेको र अझै केही घन्टामा बाँकी सडकमा सवारी चल्न मिल्ने बनाउन काम भइरहेको सेनाको दाबी छ । प्रतिकूल मौसमका कारण पनि उद्धारकार्यमा कठिनाइ भइरहेको सेनाले जनाएको छ । भारतीय मौसम विभागका अनुसार आगामी ४८ घण्टासम्म चमोली क्षेत्रमा भारी भर्षा र हिमपातको सम्भावना कायमै छ । जसका कारण पुरिएका अन्यलाई उद्धार गर्न जोखिम बढेको भन्दै शुक्रबार अबेर राति उद्धारकार्य रोकिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिराथ सिंह रावतले आज हेलिकप्टरबाट घटनास्थलको अवलोकन गरेका छन् । उनले घटनास्थलमा तत्काल उद्धारकार्य गर्न र उद्धार गरिएकाहरुको उपचार र राहत पुर्‌याउन निर्देशन दिएको बताएका छन् । केही साताअघि चमोली जिल्लामै हिमनदी विष्फोट भएर बाढी आउँदा दर्जनौंको मृत्यु भएको थियो । ४ वटा जलविद्युत् आयोजना तथा स्थानीय नदी तटीय क्षेत्रमा भारी मात्रामा क्षति पुगेको थियो । (एजेन्सी)