NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक स्कोर

काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेटको उपाधिका लागि नेपालले नेदरल्यान्डस्‌लाई २३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको हो । यो स्कोर टी-२० क्रिकेटमा नेपालको हालसम्मकै उच्च हो । यसअघि नेपालले सन् २०१९ को साउथ एसियन गेम्समा भुटानविरुद्ध २३६/३ को योगफल तयार गरेको थियो । विशाल स्कोर खडा गर्ने क्रममा नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको पाँचौ खेल खेलिरहेका भुर्तेलले चौथो अर्धशतक बनाउने क्रममा ७७ रन बनाए । यसका लागि उनले ५३ बलको सामना गरेका थिए । उनको पारीमा ८ चौका र ३ छक्का सामेल थियो । खेलमा अर्का कुशल (मल्ल) पनि चम्किए । १७ वर्षका उनले २४ बलमा अविजित ५० रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीसँग मिलेर उनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । दीपेन्द्र आफ्नो अर्धशतक बनाउन २ रन मात्रै टाढा रहे । १८ बल मात्रै खेलेका उनले ५ चौका र ३ छक्का हिर्काए । यसअघि कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आरिफ सेखले १६ रन मात्रै बनाउन सके । नेदरल्यान्डस्‌का लागि फिलिप बोइसभेनले २ तथा सेबेस्टपयन ब्राटले १ विकेट लिए । नेदरल्यान्डस्‌ले भर्खरै आफ्नो पारी सुरु गरेको छ । आजको खेलमा नेपालले नेदरल्यान्डस्‌लाई हराए पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्नेछ ।