NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पर्यटक लोभ्याउँदै दोलखाको कालाघारी झर्ना

काठमाडौं । पर्यटकीय क्षेत्र दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षत्रपा शीतलबस्तीस्थित कालाघारी झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । झर्नाको मनोरम दृश्य र पौडी खेल्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । झर्नामा बाह्रै महीना पानी उत्तिकै मात्रामा बग्ने गर्छ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।उनीहरूले यहाँ पुगेर पौडीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् । यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत संकलन गर्न सहज हुने स्थानीयवासीको भनाइ छ । सो गाउँपालिका–८ का वडाध्यक्ष रमेशकुमार अधिकारीले भने, ‘यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो । तर, गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।’ विगतमा प्रचारप्रसारको अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ । तर, स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले सो क्षेत्रमा पुग्नका लागि रु २० लाखको लागतमा करिब एक हजार ८ सय वटा सिँढी र प्रतिक्षालय निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । ‘यस झर्नाको विकास गर्नका लागि काम भइरहेको छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘हाम्रो गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँछौं ।’