NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी थालियो

काबुल । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः सुरु भएको बताएका छन् । उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण सुरु भइसकेको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी सुरु गरिसकेको उनको भनाइ छ । यसै महिनाको सुरुमा राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै फिर्ता गर्ने घोषणा गरेका थिए । अमेरिकाको वल्र्ड ट्रेड टावरमा आतंकवादी संगठन अलकायदाले आक्रमण गरेलगत्तै अमेरिकाले उक्त समूहका लडाकु लुकेर बसेको भन्दै अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो । जनरल मिलरले काबुलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले तालिबान समूहका जिम्मेवार सदस्यहरुलाई देशभित्र हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेको बताएका छन् । यदि हिंसात्मक गतिविधि पुनः सुरु भए त्यो अफगानी जनता र देशकै लागि दुर्भाग्यपूर्ण हुने सन्देश आफूले तालिबानी नेताहरुलाई दिएको पनि उनको भनाइ थियो । तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिबानीको सत्ता पतन भएको थियो । सन् २०२० मा तालिबानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्वनिर्धारित कार्यसूची रहेको छ । जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडाहरु अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिए । (रासस/एपी)