NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मनाङमा यार्सागुम्बा सङ्कलन खुला, बाहिरी जिल्लाका व्यक्तिलाई प्रवेश निषेध

मनाङ । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्ला मनाङमा यार्सगुम्बा सङ्कलन थालिएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन यार्सा सङ्कलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले अनुमतिसमेत दिइसकेको छ । यार्सा सङ्कलन पूर्जी खुला गरिएको छ । एक्यापले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट्याएको छ । नाम्के खर्कका लागि २० हजार रुपैयाँ , ङिस्याङका लागि २० हजार रुपैयाँ र नार फु भ्यालीका लागि ३० हजार रुपैयाँ छुट पूर्जी रकम उल्लेख गरेको छ । गत वर्ष कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएकोले जडिबुटी सङ्कलनमा रोक लगाइएको थियो । कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेकोले यस पटक भने जिल्लाभित्र बसोबास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको एक्याप प्रमुख लेखनाथ गौतमले बताए । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लाबाट आउनेलाई भने प्रवेश नदिइने उनको भनाइ छ । जिल्लाका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन, जिल्ला प्रहरी र सशस्त्र प्रहरीलगायत डीसीसीएमसीको निर्णयअनुसार जिल्लाका सबै क्षेत्रमा यार्सा सङ्कलन पूर्जी खोलिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ताचैका अध्यक्ष याद घलेले जानकारी दिए । उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयको आर्थिक अवस्थमा आएको सङ्कट टार्नको लागि पनि सङ्कलन आवश्यक भएको हो । जडिबुटी र पर्यटन व्यवसायमा निर्भर रहेका यहाँका स्थानीय कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै सिजनमा यार्सा सङ्कलन गरेर जीविका चलाउन सकिने बताउँछन् । जडिबुटी सङ्कलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासनले अनुरोध गरेको छ । माहामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछनेले जानकारी दिए । उनले सङ्कलन गरिएका जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा प्रशासन कार्यालयले आवश्यकताअनुसार जिल्लाका सबै सुरक्षा निकायको प्रयोग गर्ने बताए । यार्सा संकलनसँगै खरिद-बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको छ । त्यसका लागि सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनपर्नेछ । समयमा सङ्कलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने स्थानीयको जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तर समेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा सङ्कलन गर्नु जरुरी भएको मनाङ ङिस्याङ कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष सगर गुरुङले बताए । हाल नाम्के खर्कमा सङ्कलन सुरु भएको घलेले जनाए । उनका अनुसार जिल्लाका सबै खर्कमा एकैचोटि सङ्कलन भने हुँदैन । यो खर्कमा सिजनको सुरु र नारफु खर्कमा सिजनको अन्तिममा यार्सा संकलन गरिन्छ । वैशाख दोस्रो साताबाट सुरु भएको सङ्कलन असार मसान्तसम्म रहने जनाइएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा चामे गाउँपालिका बाहेक अरु गाउँपालिकामा यर्सागुम्बा सङ्कलन गर्ने खर्क छन् । रासस