NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

निर्वाचन आयोगविरुद्ध हत्याको मुद्दा चलाउने मद्रास उच्च अदालतको चेतावनी

काठमाडौं । कोरोना भाइरसको बढ्दो कहरका कारण भारतमा हाहाकार मच्चिएको छ । यसैबीच मद्रास उच्च अदालतले संक्रमण फैलिनुको पछाडि निर्वाचन आयोगलाई मुख्य जिम्मेवार ठहराएको छ । कोरोना भाइरसको दोस्रो लहरले भयावह स्थिति उत्पन्न गराउँदा पनि राजनीतिक दलका चुनावी अभियानहरु नरोकिएको र त्यसका लागि निर्वाचन आयोगले नै अनुमति दिएकाले कोरोना फैलावटको जिम्मेवारी पनि आयोगले नै लिनुपर्ने अदालतले बताएको छ । मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले भने, ‘निर्वाचन आयोगका अधिकारीविरुद्ध हत्या आरोपमा मुद्दा दर्ता गरिनुपर्छ । ’अदालतले कोरोनाको दोस्रो लहर भयावह हुनुका पछाडी निर्वाचन आयोग नै जिम्मेवार रहेको बताएको छ । अदालतले भनेको छ, ‘कोरोना संक्रमण फैलिरहेको जानकारी हुँदा हुँदै पनि चुनावी सभाका लागि राजनीतिक दललाई अनुमति दिइयो । त्यसैले निर्वाचन आयोगमाथि आम नागरिकको हत्याका लागि मुद्दा चलाइनुपर्दछ ।’ यसका साथै आगामी मे २ सम्म मतगणनालाई लिएर पनि अदालतले आदेश दिएको छ । कोभिडसँग जोडिएका गाइडलाइन्स र ब्लूप्रिन्ट तयार नभएको भए अहिले तत्काल मतगणना स्थिति गर्न पनि आदेश दिएको छ । ३० अप्रिलभित्र मतगणनाको योजना अदालतमा पेश गर्न पनि आदेश दिइएको छ । तमिलनाडु, पश्चिम बंगाल, केरल र असमका साथै केन्द्र शासित प्रदेश पुडुचेरीमा विधानसभा चुनाव भइरहेको छ । पश्चिम बंगालमा २९ मेमा अन्तिम चरणको चुनाव हुँदैछ । अन्यत्र सबै क्षेत्रमा चुनाव सम्पन्न भइसकेको छ । एजेन्सी