NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोभिड राहतमा केन्द्रित हुनुपर्ने सरकार शिलान्याश र उद्घाटनमा रमायो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना संकटमा जनतालाई राहत दिन केन्द्रित हुनुपर्ने सरकार शिलान्यास र उद्घाटनमा रमाएको आरोप लगाएका छन् । सरकारको यस्तो आचरणले कोरोना संक्रमणको भयावह स्थिति सामना गर्नुपर्ने स्थिति निम्तिएको उनको भनाइ छ । आज एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ ।’ छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्यांकले खुला सीमा रहेको नेपालको देशको स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने विज्ञप्तीमा उल्लेख छ । जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेका छन् ।महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई परेको भन्दै उनले भनेका छन्, ‘उनीहरूका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु ।’ विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयंसेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह प्रचण्डले आग्रह गरेका छन् ।